बागलुङ, ११ बैशाख – बागलुङमा वडा तहको बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनको बैठकबाट जनमोर्चा पनि बाहिरिएको छ । आईतवार विहानसम्म पालिका प्रमुख र उपप्रमुखमा सहमती गरेका सत्तागठबन्धनले वडातहको भागबण्डामा आआफ्नो दावीबाट पछि नहटेपछि जनमोर्चा बैठकबाट बाहिरिएको हो ।
यस अगाडि प्रमुख उपप्रमुखमा सम्मानजनक सहमती हुन नसकेको भन्दै एकिकृत समाजवादी पबिैठकबाट बाहिरिएको थियो । विहान एकिकृत समाजवादीलाई अलग राखेर सहमती गरेका नेपाली कांग्रेस, जनमोर्चा र माओवादीले वेलुकासम्म आईपुग्दा जनमोर्चा पनि सहमतीबाट वाहिरिएको हो ।
दुई भन्दा बढी दलको एउटै वडामा दावी भएपछि सहमतिमा पुगेको पालिका प्रमुख र उपप्रमुखमा समेत कार्यान्वयन नहुने गरी बैठक बैठक छाडेर जनमोर्चा बाहिरिएको हो ।
जनमोर्चाका एक नेताका अनुसार सतागठबन्धनको वार्ता करीव करीव नमिल्ने गरी टुंगिएको छ । ‘तत्कालका लागि बैठक स्थगित भएको छ, प्रयास भने जारी राख्ने भनिएको छ तर बैठक टुंगिएको अवस्था छ ।’ बैठकमा सहभागि एक नेताका अनुसार ‘तंग्राम, लेखानी, अमलाचौर, अमरभूमि, बिनामारे लगायतका केही वडामा कुरा मिल्न बाँकी छ ।’
काठेखोला गाउँपालिका–४ तंग्राममा कांग्रेस र राष्ट्रिय जनमोर्चाको दावी छ । दुवै दल तंग्राम छोड्न तयार छैनन् ।
काठेखोला गाउँपालिका–८ लेखानीमा राजमो, माओबादी र कांग्रेस, बागलुङ नगरपालिका–१२ अमलाचौरमा राजमो, माओबादी र कांग्रेस तथा ताराखोला–१ अमरभूमिमा पनि तिनै दलको दावी कायम रहेको छ । जैमिनी नगरपालिका–५ बिनामारे, बागलुङ नगरपालिका–३ गुठीमा पनि दलहरुको आ–आफ्नै दावी छ ।
‘बिषेश गरी कांग्रेस र राजमोको जनाधार प्रतिस्पर्धात्मक रहेका वडाहरुमा समस्या आयो’ बैठकबाट बाहिरिएका माओवादी नेताका अनुसार ‘राती अवेरसम्म छलफल हुन्छ, बिहान पालिका स्तरमा भएको सहमति कायम रहन पनि सक्छ र भत्किन पनि सक्ने अवस्थामा पुगेको छ ।’ अहिले जनमोर्चा र माओवादीविच वार्ता भइरहेको छ ।
नेकपा एमाले भने बागलुङमा एकल रुपमा निर्वाचन लड्ने तयारी गरीरहेको छ । राप्रपासंग एमालेको छलफल भएपनि अन्तिम निश्कर्षमा पुग्न सकेको छैन ।
गठबन्धनले भागबण्डामा जिल्ला समन्वय समिति समेत टुंगो लगाएको छ । समन्वय समितिको प्रमुख राजमोलाई र उपप्रमुख एकिकृत समाजवादीको भागबण्डामा परेको छ । जिल्ला समन्वय समिति समेत बाँडफाँड गरेपछि गठबन्धनको बैठक निश्कर्षमा पुगेको हो ।