बागलुङ, १२ बैशाख – केन्द्रको निर्देशनपछि बागलुङमा सत्तागठबन्धनमा मध्यरातमा सहमती भएको छ । वडा तहको बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनको बैठकबाट जनमोर्चा र एकिकृत समाजवादी बाहिरिएका थिए ।
एकिकृत समाजवादी वाहिरिएपछि आईतवार विहान पालिका प्रमुख र उपप्रमुखमा सहमती गरेका सत्तागठबन्धन वडातहको भागबण्डामा आआफ्नो दावीबाट पछि नहटेपछि साँझ जनमोर्चा पनि बैठकबाट बाहिरिएको थियो।
एकिकृत समाजवादी र जनमोर्चा बाहिरिएपछि केन्द्रमा पुगेको बागलुङको भागबण्डाको विवाद नमिलेका वडामा केन्द्रले नै निर्देशन दिएर पठाएपछि विहानपख मात्रै सहमती भएको बैठकमा सहभागी एक नेताले वताए ।
केन्द्रको निर्देशनपछि विवाद भएको तमानखोला गाउपालिकाको उपाध्यक्ष र बागलुङ नगरपालिका-२ को वडा अध्यक्ष नेकपा एकिकृत समाजवादीले पाएको छ । काठेखोला-४ तग्राम र बागलुङ नगरपालिका-१२ को वडाध्यक्ष जनमोर्चाले पाएको छ ।
मध्यरातको सहमति अनुसार कांग्रेसलाई बागलुङ नगरपालिका र गलकोट नगरपालिकाको प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्ष मिलेको छ ।
कांग्रेसलाई जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाको उपप्रमुख, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाको उपाध्यक्ष भावण्डा भएको छ ।
माओवादी केन्द्रले ढोरपाटन नगरपालिकाको प्रमुख, ताराखोला गाउँपालिकाको अध्यक्ष, बागलुङ नगरपालिका र गलकोट नगरापालिको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।
राष्ट्रिय जनमोर्चालाई जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्ष, काँठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष मिलेको छ ।