म्याग्दी, १४ बैशाख – नेपाली कांग्रेसका तर्फबाट रघुगंगा गाउँपालिका म्याग्दीमा अध्यक्षका उमेदवार भवबहादुर भण्डारीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
गाउँपालिकाको कोषबाट जग्गा व्यवस्थापनका लागि लगेको १ करोड ४२ लाख रुपैयाँ पेश्की रहेको, स्थानीयबाट गाउँपालिकाका लागि भनेर प्राप्त भएको २० रोपनी जग्गामध्ये ५ रोपनी गाउँपालिकाका नाममा राखेर अन्य जग्गा आफ्नो नाममा दर्ता गराएको लगायतका आरोप लगाउदै भण्डारीविरुद्ध निर्वाचन कार्यालयमा उजुुरी दर्ता भएको हो ।
नेकपा एमालेका तर्फबाट अध्यक्षका उमेदवार प्रेम बहादुर कार्की (दिपक विखर्ची) र अध्यक्षमा स्वतन्त्र उमेदवारी दिनुभएका सागर भण्डारीले मंगलवार उजुरी दर्ता गराएको रघुगंगाका निर्वाचन कार्यालयका अधिकृत तेज प्रसाद पौडेलले जानकारी दिए ।
गाउँपालिकाको रकम व्यक्तिको नाममा खर्च गरेको भन्दै अध्यक्ष पदका २ जना उमेदवारले उजुरी दिएको र निर्वाचन कार्यालयले यस विषयमा छानविन गर्ने निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।
रघुंगंगा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारीले गाउँपालिकाका लागि जग्गा व्यवस्थापन गर्न विनियोजन भएको रकमबाट आफ्नो नाममा जग्गा बनाएको आरोप अध्यक्षका उमेदवारहरुले लगाएका छन् ।
दाताहरुले निशुल्क रुपमा दिएको जग्गा गाउँपालिकाको नाममा ८ रोपनी र जग्गादातालाई १२ रोपनी फिर्ता गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्षका रुपमा भण्डारीले ५ रोपनी गाँउपालिकाको नाममा राखी अरु जग्गा आफ्नो नाममा राखेको, पालिकाबाट लगेको रकम आफ्नो नाममा रहेको जग्गा व्यवस्थापनका लागि खर्च गरेको आरोप लगाइएको छ ।