पोखरा, १५ बैशाख – कार्यकालको अन्तिममा आएर पोखरा महानगरपालिकाले १८ करोड ५२ लाख रुपैयाँ रकमान्तर गरेको खुलेको छ । जसमा ल्याण्डफिल साइटका लागि भनेर छुट्याइएको चार करोड रुपैयाँसमेत समावेश छ ।
पोखराको ल्याण्डफिल साइट निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय पोखरा विमानस्थलको टाउको दुखाई नै बन्न पुगेको छ । हाल ल्याण्डफिल साइट रहेको ठाउँ विमानस्थल नजिकै रहेको छ । ल्याण्डफिल साइट व्यवस्थापन। पोखरा महानगरले वर्षाैदेखि सहरको फोहर व्यवस्थापन गरिरहेको बाच्छेबुडुवास्थित ल्याण्डफिल साइट अझ व्यवस्थापन गर्न सकेको छैन ।
निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई नै असर पुग्ने भएपछि महानगरले पछिल्ला तीन वर्षयता नीति तथा कार्यक्रम र बजेटमा ल्याण्डफिल साइटलाई प्राथमिकता दिँदै आएको थियो । चालु आर्थिक वर्ष २०७८÷०७९ मा पनि ल्याण्डफिल साइटको लागि महानगरले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
तर, महानगरले पाँच वर्षे कार्यकालको अन्तिम नगरसभा बैठकबाट उक्त रकमलाई रकमान्तर गर्ने निर्णय गर्ने खुलेको हो । महानगरको गत माघ २७ गतेको कार्यपालिका बैठकको एजेण्डालाई २८ गते बसेको १० औँ नगरसभाले पारित गरेको थियो ।
सोही नगरसभाकै निर्णय नं. ६ मा उक्त बजेट रकमान्तर गर्ने उल्लेख गरिएको छ । चिनियाँ लगानीमा निर्माणाधीन विमानस्थल आयोजना पक्ष, पोखरा महानगर र स्थानीयबासीको कैयन छलफल र अन्तरक्रियाका बाबजुद महानगरले ल्याण्डफिल साइट व्यवस्थापन गर्न सकेको छैन ।
हाल ल्याण्डफिल साइट रहेको वडा नं. १४ को बाच्छेबुडुवा फोहोरले भरिइसकेको र छिटै नसारे विमानस्थल परियोजना र चराचुरुङ्गीलाई पनि असर पर्ने भन्दै सरोकारवालाहरुले निरन्तर ध्यानाकर्षण गराइरहेका छन । अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्याण्डफिल साइट करिब दुईकिलोमिटर दूरीमा पर्छ । विमानस्थल नजिक फोहर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरुले बताईरहेका छन । त्यसले गर्दा ल्याण्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ ।
यसको लागि महानगरले अन्यत्र फोहोर व्यवस्थापनको पहल पनि नगरेको होइन । तर, समिति नै बनाएर अध्ययन गर्दा पनि मानबहादुर जिसी नेतृत्वको पाँच वर्षे कार्यकालमा ल्याण्डफिल साइटको समस्या हटेन ।
तर, अस्वस्थ मेयर जिसी आफैं उपस्थित भएर साइटको लागि छुट्याइएको रकम नै रकमान्तर गरिदिएर महानगरबाट बिदा भएका छन । अर्बौँ खर्चेर निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको परियोजनामा देखिएको समस्या समाधान गर्न नसकेपछि र त्यो रकम खर्च गर्ने आँट नदेखाएपछि जिसी नेतृत्वको नगरसभाले बजेट नै अन्यत्र खर्च गर्ने निर्णय गरेर महानगरबाट बिदा भएको छ ।
सोही नगरसभाले महानगरले बसपार्क निर्माणको लागि विनियोजित एक करोड रुपैयाँ पनि विनियोजित गर्ने निर्णय गरेको छ । स्मार्ट सिटी र बसपार्कको नारा दिएर पाँच वर्षअघि एमालेबाट चुनाव जितेका जिसीले अन्तिममा आएर त्यही बसपार्कको बजेट पनि रकमान्तर गरेका छन ।
चुनावको एजेण्डामा रहेको अर्को विषय फिर्के खोलाको पहिरो नियन्त्रणको १ करोड ८२ लाख रुपैयाँ, महानगर सफा गर्न बु्रमर खरिद गर्ने भनेर विनियोजन गरिएको दुई करोड ५० लाख, हाइड्रोलिक दमकल खरिदका लागि छुट्याइएको तीन करोड रुपैयाँ रकमान्तर गर्ने निर्णय नगरसभाले गरेको पाइएको छ ।
यसबाहेक, शिशुवा अस्पतालको भवन निर्माणका लागि छुट्याइएको एक करोड ५० लाख, प्रशासकीय भवन निर्माणको लागि विनियोजित ८० लाख, सभागृह हल मर्मतमा छुट्याइएको एक करोड, गुणस्तर प्रयोगशाला थप कोठा तथा सामाग्री खरिदको लागि विनियोजित एक करोड रुपैयाँ र वडा नं. ४ को बहुउद्धेश्यिय भवन निर्माणको लागि छुट्याइएको ९० लाख रुपैयाँ पनि रकमान्तर भएको छ ।
३ सय टुक्रे योजनामा रकमान्तर
उक्त रकम महानगरले झन्डै ३०० टुक्रे योजनामा वितरण गरेको छ । महानगरका ठुला प्रोजेक्टको बजेट रकमान्तर गरेर आमा समूह, पँधेरो, नाला मर्मत, गेट निर्माण, ब्याडमिन्टन कोर्ट, स्ट्रिट नेम प्लेट बोर्ड, ट्रष्टमा खर्च गरेको छ ।
शनिश्चरी माई गुठीको नाममा एक लाख, माधव स्मृति भवन फर्निचरलाई २ लाख दिने निर्णय नगरसभाले गरेको छ । महानगरले ३३ वटै वडामा पर्नेगरी विविध योजनामा रकम खर्चेको छ । नयाँ योजनामा २६ वटा योजना मध्यम छन भने अधिकतम योजना १÷२ लाखका पनि छन । कल्भर्ट, सडकको रंगरोगन देखि विद्यालय, मन्दिर, जातीय संस्थादेखि व्यक्तिको घर जाने बाटोको नाममा महानगरले हरेक वडामा रकमान्तरित बजेटको कार्यक्रम बनाएर विनियोजन गरेको छ ।