पर्वत, १५ बैशाख – स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । २०७४ सालमा भएको संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा यो नियमले पर्वतका महिला नेतृहरूलाई हौस्याएको पनि थियो ।
तथ्याङ्क र अध्ययनहरूमा आम नागरिकमा राजनीतिप्रति चासो बढेको, सामाजिक न्याय र सामाजिक सुरक्षा बढेको, महिला अधिकारहरू कार्यान्वयनमा रहेको, राजनीतिक सोचको विकास भएको, महिला अधिकारको पक्षमा महिला मात्रै नभई पुरुषहरू पनि सक्रिय रहेको लगायतका कुराहरू उल्लेख गरिन्छन् । तर, वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनले भने यी कुरालाई मिथ्या साबित गर्न खोजेको देखिएको छ ।
पाँच दलीय गठबन्धन केन्द्रमा रहेको भए पनि पर्वतमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीबीचमा मात्रै चुनावी तालमेल भएको छ । तर, अवस्था यस्तो देखिन्छ कि गठबन्धनमा रहेका यी तीनवटै दलहरूमा महिला नेतृहरूको अवस्था शून्य छ वा भएर पनि निरीह छ ।
दुई नगरपालिका र पाँचवटा गाउँपालिका गरी सात ओटा स्थानीय तहहरू रहेको पर्वतमा गठबन्धनले स्थानीय तहको प्रमुख र उपप्रमुख गरेर १४ जना उम्मेदवार चयन गरेको छ । ती १४ जनामा १२ जना पुरुषहरू रहेका छन् भने २ जनामात्रै महिला राखिएको छ । गठबन्धनबाट कुश्मा नगरपालिकाको प्रमुखमा रामचन्द्र जोशी र उपप्रमुखमा शंकर गिरी, फलेवास नगरपालिकाको प्रमुखमा गंगाधर तिवारी र शोभा क्षेत्री, मोदी गाउँपालिकाको प्रमुखमा गुप्तबहादुर हमाल र उपप्रमुखमा रामबहादुर प्रसाईँ, जलजला गाउँपालिकाको प्रमुखमा राजु आचार्य र दीपक आचार्य उम्मेदवार रहेका छन् ।
यस्तै बिहादी गाउँपालिकाको प्रमुखमा प्रवीण गुरुङ र उपप्रमुखमा सन्त बहादुर गुरुङ, पैयुँ गाउँपालिकाको प्रमुखमा तोरण मल्ल ठकुरी र उपप्रमुखमा जानकारी प्रधान तथा महाशिला गाउँपालिकाको प्रमुखमा अशोक उचै ठकुरी र उपप्रमुखमा बिराज हमाल उम्मेदवार हुन । सात स्थानीय तहमध्ये फलेवास नगरपालिकाको उपप्रमुख र पैयुँ गाउँपालिकाको उपप्रमुखमा मात्रै महिला उम्मेदवार खडा गरिएको छ ।
नेकपा एमालेले भने सातवटामध्ये छ वटा स्थानीय तहका प्रमुखमा पुरुष र एकमा महिला उम्मेदवार बनाएको छ ।
एमालेबाट कुश्मा नगरपालिकाको प्रमुखमा गणेश शर्मा पौडेल र उपप्रमुखमा स्वस्थानी रिजाल, फलेवास नगरपालिकाको प्रमुखमा पदमपाणि शर्मा र उपप्रमुखमा मञ्जु अधिकारी प्यासी, मोदी गाउँपालिकाको प्रमुखमा हिरादेवी शर्मा र उपप्रमुखमा विमल लामिछाने, जलजला गाउँपालिकाको प्रमुखमा लालबहादुर अधिकारी र उपप्रमुखमा सुनिता जिसी उम्मेदवार रहेका छन् । यस्तै बिहादी गाउँपालिकामा ओम कुँवर अध्यक्षमा र मिना तिवारी उपप्रमुखमा, पैयुँ गाउँपालिकामा महेन्द्र श्रेष्ठ प्रमुखमा र यामकुमारी राना उपप्रमुखमा तथा महाशिला गाउँपालिकामा इश्वरी भुसाल प्रमुखमा र धनसुबा बिक उपप्रमुखमा भिड्दै छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचन संघीयतापछिको पहिलो भएका कारण पनि प्रायः उपप्रमुख पद नै महिला नेतृहरूको रोजाइमा परेको थियो । पाँच वर्षको अवधिमा सिकेका अनुभव र कार्यसम्पादनबाट अबका लागि भने आफूहरू स्थानीय तहको प्रमुख नै बन्न सक्षम र योग्य रहेको भन्दै महिलाहरूले बताउँदै र प्रमुख पदमा दाबी गर्दै आएको भए पनि यस पटक त झन् ऐनमा भएको व्यवस्थालाई नै कुल्चिइएको छ ।
सबै पदमा पुरुषहरूको रजाइँ देखिएपछि त्यसको विरोध भएको छ ।
‘पाँच वर्षसम्म उपमेयरको काम गरेका महिलाहरू अहिले उपमेयरबाट समेत बाहिरिएका छन् । पर्वतमात्रै होइन गण्डकी प्रदेश र अन्य जिल्लाको पनि अवस्था देखेकी छु । महिला बसेको पदभन्दा तल पुरुष बसेर काम गर्नै हुन्न भन्ने मानसिकता हो जस्तो देखिन्छ’, कुश्मा नगरपालिकाकी निवर्तमान उपप्रमुख सीता काफ्ले लामिछाने भन्छिन्, ‘गठबन्धनभित्र पनि त अनुभवी र सक्षम महिलाहरू हुनुहुन्छ तर उहाँहरूलाई विश्वास गरेको देखिएन । राजनीतिबाट नै उपेक्षा गर्ने हो भने अरू कुन नीतिमा महिलालाई अटाउन सकिन्छ ?’