बागलुङ, १५ बैशाख – साता अघिसम्म मिलेर हिँडेका दलका नेता तथा कार्यकर्तामा अहिले एकाएक विचलन आएको छ । स्थानीय निर्वाचनको टिकट वितरणपछि असन्तुष्टि जनाउँदै कतिपयले पार्टी नै छाडेका छन् भने कतिपयको सम्बन्धमा तुस पलाएको छ ।
कांग्रेसका पूर्वपार्टी सचिव नवराज पौडेलले घोषणा गरेर एमालेको प्रचारमा तस्बिर सार्वजनिक गरेका छन् । नेपाल महिला संघकी सचिव उषा पौडेलले जैमिनी नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै उमेदवारविरुद्ध एमालेको चिह्न लिएर उठेकी छन् ।
अघिल्लो दिनसम्म पार्टीभित्रै उम्मेदवार बन्न रस्साकसीमा लागेकी पौडेलले सोमबार एमालेबाट टिकट पाइन् । एमालेले अन्य पालिकामा पनि फरक दलबाट ल्याएर निर्वाचनमा टिकट दिएको छ । उनीहरूले समयमा उम्मेदवारी फिर्ता लिएर आत्मालोचना नगरे पार्टीले कारबाही गर्ने कांग्रेस नेताले बताए ।
कांग्रेसकै बागलुङ नगरपालिका-२ का सभापति अमरबहादुर खड्काले वडाध्यक्षको टिकट नपाएको भन्दै एमालेमा प्रवेश गरेर सदस्य लडेका छन् । उक्त वडामा गठबन्धनबाट नेकपा एसलाई अध्यक्ष परेको थियो । कांग्रेसकै काठेखोलाका पालिका सचिव चन्द्रकुमार पुनले कांग्रेस छाडेर एमालेमा प्रवेश गरी काठेखोला–८ बाट उम्मेदवार बनेका छन् । कांग्रेसकै काठेखोला–१ का पार्टी सभापति गणेश नेपालीले पनि वडाध्यक्षको टिकट नपाएको भन्दै पार्टी छाडेका छन् र स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
े
एमालेमा पनि पद नपाएकाहरू असन्तुष्ट छन् । कोही भने टिकट नपाउने पक्का भएपछि अघिल्लै दिन स्वतन्त्र उम्मेदवार बनेका छन् । बागलुङ-२ मा टिकटको चर्चा चले पनि नपाएका रामराज गुरुङ र वडा ३ का पुनम शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बागलुङ नगरपालिकाको उपप्रमुखमा मनोनयनपछि पवित्रा रोकालाई त्यागेर एमालेले राप्रपाका सञ्जय खड्कालाई उम्मेदवार बनायो ।
ढोरपाटन नगरमा टिकट दिएर मनोनयनका बेला एमालेले विद्रोही राजमोसँग गठबन्धन गरेपछि टिकट खोसिएकी करमती पुनले भने पार्टीका लागि त्याग गरेको बताइन् । त्यहाँ एमालेभित्र असन्तुष्ट प्रदेश सदस्य तुलसीराम अर्याल र दधीराम अर्याल पुन माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरु केही समय पहिले माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए ।
उम्मेदवार बन्न नपाएपछि जैमिनी नगरपालिका-१ का काशीराम आचार्यले कांग्रेसबाट बीपी पार्टीमा लागेर नगर प्रमुखमा मनोनयन दिएका छन् । माओवादी गलकोट नगरका अध्यक्ष तिलक उप्रेतीले विज्ञप्ति निकालेर पार्टी छाडेको बताए । उनले नगर उपप्रमुखमा उम्मेदवारी दिएका छन् । माओवादीले फमलाल निउरेलाई उठाएपछि उनले पार्टी त्यागेका हुन् । जिल्लाभरि यस्ता घटना धेरै छन् ।
निर्वाचनका बेला टिकट नपाएर दल त्याग्ने र अप्ठ्यारो पर्दा घर छाडेर हिँड्ने काम राम्रो नभएको कांग्रेस पूर्वजिल्ला सभापति हरिप्रसाद श्रेष्ठले बताए । ‘५० वर्षदेखि झन्डा बोकेकै छु, सभापति भएँ, पद नपाए पनि निरन्तर खटिएको छु,’ श्रेष्ठले भने, ‘बाटो बिराएकाले पछि चेत्ने छन् ।’ उनले राजनीतिलाई जागिरका रुपमा तुलना गर्नेले पार्टी छाड्ने गरेको बताए ।
एमालेका सांसद सूर्य पाठकले हरेक दलले आफ्नो जनमत परीक्षण गर्ने बेला भएकाले टिकट नपाउनेले झगडाभन्दा एक भएर कार्यकर्ता प्रशिक्षणमा लाग्नुपर्ने बताए । ‘दस जना आकांक्षीबाट एक जनाले टिकट पाउने हो, नौ जना असन्तुष्ट बन्ने होइन, बरु चुनाव जिताउन लाग्नुपर्छ,’ पाठकले भने, ‘लोकतन्त्रका साझा एजेन्डा पूरा गर्ने काममा मात्रै प्रतिस्पर्धा राम्रो हो ।’ टिकट नपाएर पार्टी छाड्नेबाट पछिसम्म असर पर्ने उनले बताए ।