२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

मल अभावको पिडामा कृषक


संजय रेग्मी
  • १५ बैशाख २०७९ , बिहिबार

  • मल अभावको पिडामा कृषक

    पर्वत, १५ बैशाख – जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीकी ७२ वर्षिया द्रुपता पौडेल रासायनिक मल पाइएको हल्ला सुनेर खरिदका लागि जिपमा दुई सय रुपैयाँ भाडा तिरेर सदरमुकाम कुश्मा बजार आइन् । करिब चार घण्टासम्म लाइनमा बसेपछि मल लिने पालो आयो तर भागमा १० किलो यूरिया र पाँच किलो डिएपी मात्रै मिल्यो ।
    लामो समयसम्म लाइनमा बस्नुपरेका कारण द्रुपता बिहान बजार आएको जिपमा गाउँ फर्किन पाइनन् । दुई सय ५० को मल किन्दा एक हजार भन्दा बढीको लगानी गर्नुपर्ने अवस्था बन्यो । ‘बिहान गाउँबाट जिपमा आएकी हुँ । आउँदा बित्तिकै पाइएला भनेको त ३÷४ घण्टा लाइनमा बसेँ । गाउँ जाने जिप एक बजे नै हिँड्यो’, उनले भनिन्, ‘दुई सय ५० को मल किनेँ जिपमा आउजाउ गर्दा चार सय, अब होटेलमा बस्दा ५÷६ सय रुपैयाँ लाग्ला ।’
    कुश्मा नगरपालिका–१ पाङका जुद्ध सुवेदी पनि बुधवार बिहान नौ बजेदेखि नै सदरमुकाम कुश्मा बजारमा रहेको रासायनिक मलको बिक्री केन्द्रमा लागेको लाइनमा थिए । केन्द्रमा मल नभएको र गाडीले लिएर आउँदै गरेको सूचना पाएपछि उनी करिब पाँच घण्टा लामो समय लाइनमा बसे । ट्रकबाट केही बोरा मल त झारियो तर जुद्धको भागमा १० किलो युरिया र पाँच किलो डिएपी मल भन्दा परेन ।
    गाउँमा नेताहरूको भोट माग्दै जान थालेको बताउने उनले नेताहरूको भोट माग्दै गाउँमा जाँदा आफूहरू मल खोज्दै सहरमा आउनुपरेको बाध्यता सुनाए । सुवेदीले लगाएको मकै खेतीको लागि कम्तीमा पनि ८० किलो रासायनिक मल चाहिने भए पनि अब उनले त्यही १० किलो मल मकैको बोटलाई सुँघाउनुको विकल्प छैन ।
    ‘यो लगेर मकैको बोटलाई सुँघाउने नै हो । यस्तो पनि हालत हुन्छ ? दुनियाँले कृषिका नारा लगाएर भोट माग्ने, अहिले मल नपाएर दिनभर घाममा लाइन बस्नुपरेको छ । त्यसमा पनि मल लिन आएकाहरूलाई थर्काएको देख्दा किन कृषक भएँछु? भन्ने लाग्यो,’ उनले भने, ‘पाँच वर्षको एक पटक भोट माग्न गाउँ गएका नेताले हामीले नपाएको मल देखेनन्, बाँदरले मकैको बिरुवा लुछेको पनि देखेनन् । तिनी कुरा उठाएर, आश्वासन दिएर हामी माथि नै राजनीति गर्छन् ।’
    यी उदाहरणका पात्र मात्रै हुन् । मकै गोड्ने समय ढल्किसक्नै लाग्दा पनि बजारमा रासायनिक मलको अभाव भएपछि मलको खोजीमा गाउँ गाउँका कृषकहरु बजार झरिरहेका छन् । स्थानीय सरकार बनेपछि स्थानीय नागरिकका माग सम्बोधन गर्न सजिलो हुने, विकेन्द्रीकृत विकासले सबै ठाउँको समानुपातिक विकास हुने लक्ष्य राखिएको भए पनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताउँछन् । उत्पादनको लागि नभई नहुने मल नपाउँदा अन्न नै फलाउन नसकेपछि आफूहरूलाई त्यो भन्दा ठुलो पिडा नहुने कृषकहरू बताउँछन् ।
    कृषि सामग्री कम्पनी लिमिटेडको आधिकारिक बिक्री केन्द्रको रूपमा रहेको धौलागिरि मल बिक्री सेन्टर कुश्माकी सञ्चालक एलिजा पुरीले सङ्घर्षका साथ केही बोरा मल ल्याएर बाँडेको भए पनि कृषकहरूको माग पूरा गर्न नसकिएको बताइन् । आएको बेलामा दैनिक १५ बोरासम्म वितरण गरिएको र त्यो पनि भाग लगाएर १० किलोको दरमा दिएर सकेसम्म सबैलाई दिने प्रयास गरिएको उनको भनाई छ ।
    ‘कृषकहरू बिहानैबाट आएर लाइनमा बस्नुहुन्छ, तर यहाँ मल नै नभएपछि के दिऊँ ? माथिबाट आए त हामीले सकेसम्म सबैलाई थोरै थोरै भए पनि पुगोस् भनेर बाँडिरहेका छौँ,’ उनले भनिन्, ‘कृषकहरूको यति धेरै माग छ की मलले यहाँका कृषकहरूलाई अलिकति पनि पुगेको छैन । अरू वितरकहरूले मल खासै पाएका छैनन् ।’
    रासायनिक मलको अभावका कारण कृषकहरूले सोचेजस्तो उत्पादन नहुने र यसले अर्थतन्त्रलाई नै प्रभावित पार्ने कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा बताउँछिन् । कृषि सामग्री कम्पनीमा आफूले पनि पर्वतमा भइरहेको मलको अभावको बारेमा कुरा गरेको बताउँदै उनले पर्वतका लागि तोकिएको कोटाको मल झारेर वितरण भइसकेको जानकारी दिइन् । अब नयाँ आयतका लागि पर्वतमा ढुवानी गर्नका लागि हालै मात्र टेन्डर आह्वान भएकाले नयाँ आयतको लागि एक महिना जति लाग्न सक्ने उनको भनाई छ ।
    ‘नेपालमा मलको कारखाना नहुनु, बाहिरबाट ल्याउने प्रक्रिया पनि झन्झटिलो र लामो हुनु, वितरण प्रणाली पनि प्रभावकारी नहुनु लगायतका कारण समस्या भइरहेको छ,’ उनले भनिन्, ‘चाहिएको बेलामा पाइँदैन, सबै प्रक्रिया पूरा गर्दा सिजन नै ढल्किसकेको हुन्छ । यहाँको कोटा पूरा भएको भए पनि अन्य जिल्लाको स्टकमा सहयोग माग्दा एक गाडी डिएपी मल ल्याउन सकिएको थियो । त्यसले केही राहतको महसुस भएको भए पनि माग अनुसार त हुने कुरै भएन ।’

    Tags :
    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend