बागलुङ, २० बैशाख, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले नेपाली जनताले विश्वास गरेर दिएको जनमत देउवाको झोलीमा राखेर बामपन्थी राजनीतिलाई कमजोर बनाउने प्रचण्ड र माधव नेपालहरुका कारण मुलुक अस्थिरतातर्फ अग्रसर बनेको बताउनुभएको छ ।
नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियानअन्तर्गत मंगलबार वडा नं. ३ धम्जामा आयोजित चुनावी सभामा बोल्दै नेपालीले यस्तो बताएका हुन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले गठबन्धनका नाममा एमालेमाथि गरिएको घेरावन्दीविरुद्ध गाउँ गाउँका जनताले संगठित भएर एमाले जिताउने अभियान सञ्चालन गरेको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख कृष्ण केसीले बामपन्थी विचारबाट विचलित हुदै गएका प्रचण्ड र माधवले देउवालाई काधमा बोकेर समाजवादको यात्रा पुरा गर्ने उल्टो बाटो हिडेकोले देशभक्त र बामपन्थी शक्तिहरुले एमालेलाई रोज्नु पर्नेमा बताए ।
एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले २०४६ सालको परिवर्तन पछि नै धम्जा एमालेको किल्लाका रुपमा स्थापित हुँदै आएको र बैशाख ३० गते हुने निर्वाचनमा पनि धम्जावासीले आफ्नो विरासत कायम राख्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य हुमा कुमारी जिसी (अञ्जु), प्रदेश कमिटि सदस्य राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, इञ्जिनियर एशोसियन गण्डकीका संयोजक खिमानन्द कंडेल, एमाले जिल्ला सदस्य प्रेम बहादुर श्रीस लगायतले बोलेका थिए ।
काठेखोलामा एमालेका तर्फबाट अध्यक्षका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन र वडा नंं ३ का अध्यक्षका उमेदवार कुल बहादुर विकले धम्जा र सिंगो काठेखोलाको विकासका लागि एमालेले बनाएको प्रतिवद्धता पत्रमा उल्लेख भएका विषयहरुलाई प्राथमिकतामा राखेर काम गर्न एमालेको सूर्य चिन्हमा मतदान गर्न आव्हान गरे ।