बागलुङ, ३० बैशाख – शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । केही स्थानमा सामान्य बिबाद र झगडाले मतदानमा असर परेपनि पुनः सुचारु भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।
जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जिल्लाभरी ६५ प्रतिशत मतदान भएको बताए । उनले बिस्तृत विवरण र तथ्यांक निकाल्दा केही तलमाथि भएपनि समग्रता ६५ प्रतिशत नै भएको जानकारी दिए । बागलुङका कुनैपनि स्थानमा मतदान स्थगित गर्न नपरेको नै महत्वपूर्ण भएको समेत ढकालको भनाइ छ । यस अघिका हरेक निर्वाचनमा बागलुङको कुनै न कुनै केन्द्रमा मतदान स्थगित हुने र पुनः निर्वाचन गर्नुपर्ने अवस्थाका घटना थिए ।
बागलुङको काठेखोला गाउँपालिका ७ को रेश र बडिगाड गाउँपालिका–४ को जलजलामा केही समय एमाले र गठबन्धन समूहबीच झगडा भएको थियो । झगडाका कारण केही समय मतदान स्थगित भएको र बिबाद मिलाएर सुचारु गरिएको ढकालले जानकारी दिए । मतदानमा १ सय २ बर्षिय मनकुमारी पाध्याले मालिका माबि मतदान केन्द्रमा मतदान गरिन् । अधिकांस स्थानमा जेष्ठ नागरिक र उमेदवारबाटै मतदान संचालन शुरुवात गरिएको थियो ।
सबै केन्द्रका मतदाता उत्साहपूर्वक मतदानमा सहभागि भएको देखिए । तर मतदाता नै कम उपस्थित भएकोले तथ्यांक कम भएको बानपा–६ सिमस्थित भगवती प्राविका मतदान अधिकृत मुकुन्द शर्माले जानकारी दिए । अधिकांस केन्द्रमा मतदाता पुरुषभन्दा महिला धेरै थिए । ‘गाउँमा भएका मतदाता महिला नै बढी देखिए’ शर्माले भने, ‘रोजगारी र अन्य पेशा व्यवसायले बसाइ सरेकाहरु मतदानमा थोरै मात्र फर्केको देखियो ।’
पढ्न सहर पसेका, रोजगारीका कारण बिदेश गएका र निर्वाचनमै खटिएका कर्मचारी र सुरक्षाकर्मी नहुँदा मतदानको प्रतिशत कम देखिएको उनले बताए । बागलुङका १ सय ३ स्थलको २ सय ३० मतदान केन्द्रमा १ लाख ९५ हजार मतदाता थिए । सबैभन्दा धेरै मतदाता भएको बागलुङ नगरपालिकामा २४ हजा ८ सय बढी मत खसेको छ । यो कुल मतदाताको ६२ प्रतिशत मात्रै हो । जैमिनी नगरपालिकामा १३ हजार ६ सय ३५, गलकोट नगरपालिकमा १४ हजार ४ सय ७१ र ढोरपाटन नगरपालिकामा १७ हजार ६ सय ३० मत खसेको हो ।
निसीखोला गाउँपालिकामा ९ हजार ९ सय २६ र तमानखोलामा ५ हजार ५ सय २५ मत खसेको सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले जानकारी दिए । ताराखोलामा ६ हजार ४ सय २४, बरेङमा ६ हजार २ सय ५३, काठेखोलामा १४ हजार ७ सय र बडिगाड गाउँपालिकामा ६७ प्रतिशत मत खसेको छ ।
कसले कहाँ मतदान गरे ?
शिक्षा मन्त्री देबेन्द्र पौडेलले बागलुङ नगरपालिका–१२ को पृथ्वी हिरण्य माबि मतदान केन्द्रमा मतदान गरे । माओवादी नेता दिननाथ शर्मा र सांसद सूर्य पाठकले पनि सोही केन्द्रमा मतदान गरेका थिए ।
बागलुङ नगरपालिकाका प्रमुखका प्रत्यासी बसन्तकुमार श्रेष्ठले बानपा–२ को बालमन्दिर केन्द्र र जनक पौडेलले बानपा–३ को सरस्वती प्रावि केन्द्रमा मतदान गरे । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले काठेखोला–८ लेखानी र कृषि मन्त्री चन्द्रबहादुर बुढाले ताराखोला ५ को मतदान केन्द्रमा मत खसालेका थिए ।
चित्रबहादुरले मत हालेनन्
बसाई सरेकोले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यो पटक बागलुङमा मतदान गरेनन् । उनले रुपन्देही जिल्लामा बसाई सरेको जानकारी दिए । ‘छोराबुहारी बसाइ सरे, उनीहरुसँगै मपनि यतै आएँ’ केसीले भने, ‘बागलुङ प्रतिको माया मेरो उत्तिकै छ ।’ केसी बागलुङबाट ३ पटक सम्म निर्वाचित सांसद हुन् ।