बागलुङ, २ जेठ– जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा नेकपा एमालेको वडा अध्यक्षसहित प्यानल विजयी भएको छ । भीमापोखरामा नेकपा एमालेका विद्यापति शर्माले १ हजार ३० मत सहित पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी गंगा थापालाई ४९ मत अन्तरले हराए । थापाले ९ सय ८१ मत प्राप्त गरिन । शर्माले २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका प्रकाशमान थापालाई १ सय ७२ मत अन्तरले हराएका थिए ।
वडा सदस्यहरुमा पनि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला थापा, दलित महिला सदस्यमा बुद्धिकला किसान, खुल्ला सदस्यमा भिम बहादुर केसी र सुरेश थापा निर्वाचित भएका छन् । काठेखोला गाउँपालिकामा पाँच दलिय गठबन्धन र नेकपा एमाले विच चुनावी प्रतिस्पर्धा भएको हो ।
यसैबीच, बागलुङमा नेकपा एसले खाता खोलेको छ । बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा गठबन्धबाट नेकपा एसका सुरज बोसेलले ३० मतान्तरले वडा अध्यक्षमा विजयी भएका हुन् । बोसेलले ४२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम बहादुर जिसीले ३९८ मत प्राप्त गरे ।
यस्तै स्वतन्त्रबाट कैची चिन्हमा उठेका रामराजा गुरुङले १ सय ८१ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा जसोदा शर्मा, दलित महिला सदस्य शान्ति बोसेल, खुल्ला सदस्य अर्जुन घिमिरे र विदेश कुमार श्रेष्ठ बिजयी भएका छन् ।