९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बलाकृत किशोरीको भनाईपछि माल्भिकाले मागिन माफी


जनमञ्च संवाददाता
  • ५ जेष्ठ २०७९ , बिहिबार

  • बलाकृत किशोरीको भनाईपछि माल्भिकाले मागिन माफी

    काठमाडौं, ५ जेठ – मिस ग्लोबल इन्टरनेसनल ब्युटी पेजेन्ट आयोजना गर्ने एक कन्सल्टेन्सी सञ्चालकबाट बलात्कृत भएको भन्दै भिडियो सार्वजनिक गरेकी तत्कालीन प्रतियोगीले भोग्नुपरेको शोषणबारे त्यति बेला राम्ररी कुरा नसुनेकोमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले सार्वजनिक माफी मागेकी छन्।

    बिहीबार दिउँसो आफ्नो फेसबुकमा सुब्बाले लामो माफिनामा पोष्ट गरेकी हुन्। उनले आफू माफीको लायक नभएकोसमेत उक्त पोष्टमा उल्लेख गरेकी छन्।

    कन्सल्टेन्सी सञ्चालकबाट छ महिनासम्म बलात्कार, धम्की र यातना भोगिसकेपछि आफूले आदर्श मानेकी सुब्बालाई सहायताका लागि फोन गरेको तर उनले ‘त्यो तिम्रो समस्या हो’ भन्दै बेवास्ता गरेको ती युवतीले भिडियोमा उल्लेख गरेकी थिइन्।

    आफूले २०१४ देखि २०२१ सम्म भोगेका बलात्कार, यौन दुर्व्यवहार र यातनाबारे ती युवतीले २० वटा साना साना भिडियो क्लिपमा विस्तार गरेकी छन्।

    भिडियो हेरेपछि युवतीले फोन गरेको र आफूले निकै हल्का प्रतिक्रिया दिएको सम्झना आएको माल्भिकाले स्वीकार गरेकी छन्।

    ‘म घटनाबारे अत्यन्तै दुस्खी छु तर म माफीको लायक छैन। मलाई विस्तृत कुरा स्पष्ट याद त छैन तर तपाईंले मलाई फोन गरेको र आफूलाई दुर्व्यवहार गर्ने पीडकबारे कुरा गर्न खोजेको राम्ररी याद छ। तपाईंलाई मेरो खाँचो परेका बेला मैले सहयोग गर्न नचाहेको पनि मलाई याद छ,’ उनले फेसबुक पोष्टमा भनेकी छन्, ‘मेरो त्यो व्यवहार माफीयोग्य होइन र मैले तपाईंबाट माफीको अपेक्षा पनि गरेको छैन।’

    उनले अगाडि भनेकी छन्  ‘त्यति बेला तपाईंको कुरा राम्ररी नसुनेकोमा, तपाईंलाई विश्वास नगरेकोमा र आवश्यकता परेका बेला सहयोग गर्न अघि नसरेकोमा म अत्यन्तै दुस्खी छु भन्ने तपाईंलाई सुनाउन चाहन्छु। तपाईंलाई मसँग रिसाउने र मलाई घृणा गर्ने पूर्ण अधिकार छ। किनभने मैले त्यतिखेर तपाईंको अपेक्षा पूरा गर्न पूरै असफल भएको थिएँ। तपाईंलाई सहयोग नगरेर तपाईंमाथि भएको अन्यायको र तपाईंले व्यहोर्नुपरेको पीडामा म पनि भागीदार छु भन्ने कुरा म पूर्ण रूपले स्वीकार गर्छु।’

    यूवतीले माफ नगरेसम्म आफू फेमिनिजम र यौन हिंसासम्बन्धी कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने माल्भिकाले बताएकी छन्।

    ‘मलाई थाहा छ यो कुरा भन्न अत्यन्तै ढिलो भैसक्यो तर म आज यो कुरा भन्न गइरहेको छु( तपाईंले भोग्नुपरेको दुस्खको घाउ भर्न म जुनसुकै काम गर्न तयार छु। जबसम्म तपाईंले मलाई माफ गर्न सक्नुहुने छैन, यौन हिंसाविरूद्धका कुनै पनि कार्यक्रम र फेमिनिजमसम्बन्धी कुनै प्लेटफर्ममा सहभागी हुने छैन,’ उनले लेखेकी छन्, ‘यसरी सार्वजनिक जीवनबाट बाहिर रहँदा तपाईंको पीडा कम हुन्छ भने म त्यो गर्नेछु। यदि तपाईं मलाई व्यक्तिगत रूपमा भेटेर आफ्नो रिस पोख्न चाहनुहुन्छ र मैले व्यक्तिगत माफी माग्दा तपाईंलाई अलिकति भए पनि सहज हुन्छ भने त्यसको निम्ति पनि तयार छु।’

    माल्भिकाले फेसबुकमा पोष्टमा भनेकी छन्, ‘मैले त्यतिखेर उनीसँग लामो गफ गर्नुपर्ने थियो र उनको हात समात्दै उनलाई अंकमाल गर्नुपर्ने थियो। म उनलाई खाँचो परेका बेला उनको समीप हुनुपर्ने थियो। मैले केही न केही त गर्नुपर्ने थियो। जस्तो उनले भनेकी छन्, मैले उनलाई फोन गरेर बहिनी तिमीलाई कस्तो छ भनेर सोध्नुपर्ने थियो। तर मैले यी केही पनि गरिनँ।’

    ‘पछिल्लो आठ वर्षमा मिटू अभियान सुरू भएपछि मैले उनलाई फोन गरेर सोधेको भए पनि हुन्थ्यो तर मैले त्यो पनि गरिनँ। मैले उनलाई निरास बनाएँ। मैले तपाईंहरू सबैलाई निरास बनाएँ। यी सबै कारणले एक महिला हुनुको नाताले, मानव हुनुको नाताले र अरूभन्दा अलिकति बढी प्रभावशाली हुनुको नाताले तपाईंहरू सबैलाई मैले निरास बनाएँ। त्यसैले जुन घृणा मैले पाइरहेको छु, म त्यसको लायक छु’, माल्भिकाले आफ्नो फेसबुक पोष्टमा लेखेकी छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend