बागलुङ, ६ जेठ – राष्ट्रिय जनमोर्चाले बागलुङका दश पालिकामध्ये एक नगर र एक गाउँपालिकाको नेतृत्व गर्न पाएको छ । जैमिनी नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भए । यो सँगै जिल्लाभर रहेका चार नगरपालिकामध्ये राजमोले एक नगरपालिकामा नेतृत्व गर्ने अबसर पाएको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलबाट नगरको नेतृत्वमा पुग्ने राजमो तेस्रो दल हो । नेकपा माओबादी केन्द्रले पनि बागलुङमा नगरपालिकाको नेतृत्व गर्न पाएको छैन् । यद्यपि, यसपटकको निर्वाचनमा गलकोट नगरपालिका र बागलुङ नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रको पोल्टामा परेका छन् ।
गाउँपालिकामा भने माओवादी केन्द्रले यस अघिपनि नेतृत्व गरिसकेको थियो । ताराखोलामा नेतृत्व गरेको माओवादीले यो पटकपनि अबसर पायो ।
जैमिनी नगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा मुख्य प्रतिष्पर्धी रहेको दल नेपाली कांग्रेससँग गठबन्धन गरेर पुन प्रमुख बनेका छन् । अघिल्लो निर्वाचनको सहयात्री दल नेकपा एमालेसँग राजमोले प्रतिस्पर्धा गरेको हो । सहकार्य फेर्दा नगरप्रमुख पुनसँग केही अवसर र केही चुनौती आउनेछन् ।
स्थानीय तह गठनपछिको पहिलो निर्वाचनबाट नगरको नेतृत्व नपाएका दलहरु नेतृत्वमा पुगेपछि नगरवासीले जाँच नभएको दल पाएका छन् । नेतृत्वमा नयाँ दल आएकाले सर्वसाधारणमा स्वभाविक विकासे आशाहरु देखिन थालेका छन् । देशभर कमजोर शक्ति भए पनि बागलुङको बलियो शक्तिका रुपमा रहेको राजमोले नेतृत्व पाएको जैमिनी नगरपालिकामा प्रशासनिक सुधारका कामलाई मुख्य रुपमा सर्वसाधारणले लिने गरेका छन् । ‘नेतृत्वमा को आयो भन्दा पनि उसले काम कसरी गर्छ भन्ने हो, जितेकाहरुको परीक्षण सुरु भएको छ’, जैमिनी नगरपालिका–एकका पूर्णप्रसाद शर्माले भने ‘प्रशासनिक सुधार र पूर्वाधारको विकास हाम्रो नगरका मुख्य काम हुन्, आशा छ हेरौं, के के गर्ने हुन् ।’
राजमोले यसअघि नेतृत्व पाएको बागलुङको बरेङ गाउँपालिका र उपाध्यक्ष पाएको काठेखोला गाउँपालिकामा सन्तोषजनक काम भएका प्रतिकृया आएका थिए । काठेखोलामा नेतृत्वमा एमाले थियो भने बरेङमा दुवै पद राजमोकै पकडमा थिए । जिल्लाभर रहेका स्थानीय तहमध्ये गाउँपालिका र नगरपालिकामा फरक फरक दलको नेतृत्वको स्वाद यसपटक बागलुङले पाएको छ ।
जैमिनीमा राजमो प्रमुखको भूमिकामा हुँदा उपप्रमुख नेपाली कांग्रेसले जितेको छ । बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा कांग्रेस प्रमुख पदमा विजयी बन्दा माओबादीले उपप्रमुख जितेको छ । ताराखोलामा माओबादी केन्द्र अध्यक्ष र बरेङ गाउँपालिकामा राजमो अध्यक्ष हुँदा कांग्रेसले उपाध्यक्ष पाएको छ ।
निसीखोलामा कांग्रेसले अध्यक्ष र माओबादीले उपाध्यक्ष, तमानखोलामा कांग्रेसले दुवै पद पाउँदा काठेखोला र बडिगाड गाउँपालिकामा पनि मिश्रित नतिजा आएको छ । ढोरपाटन नगरपालिकामा एमालेले प्रमुख जित्दा उपप्रमुख कांग्रेसको पोल्टामा परेको छ । ताराखोलामा माओवादीले अध्यक्ष जित्दा उपाध्यक्ष कांग्रेसले जितेको छ ।
सबै नतिजाले जिल्लाका सबै स्थानीय तहमा फरक विचार भएका प्रमुख र उपप्रमुख रहने निश्चित छ । फरक विचार भएका दलहरु नेतृत्वमा आउँदा सर्वसाधारणले भने मिलिमतो र जनताको विपक्षमा हुने कामहरु कम हुने आशा गर्न थालेका छन् ।