२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

सुभाषचन्द्र नेम्वाङको गृहनगरमा एमाले भत्काउने ८० बर्षिया जनप्रतिनिधी


जनमञ्च संवाददाता
  • ८ जेष्ठ २०७९ , आइतबार

  • सुभाषचन्द्र नेम्वाङको गृहनगरमा एमाले भत्काउने ८० बर्षिया जनप्रतिनिधी

    इलाम, ८ जेठ – नागरिकतामा उमेर ७४ वर्ष। वास्तविक उमेर आठ दशक अर्थात् ८० वर्ष। विष्णु दाहाल (लिम्बू) यो उमेरमा निकै खुसी छन्। जनताले इलाम नगरपालिकाको उपमेयरको माला पहिर्‍याइदिएपछि खुसी साट्दै जनताको घर दैलोमा व्यस्त छिन्, उनी। मतदातालाई धन्यवाद दिँदै चुनावमा गरेका बाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दैछिन्।

    एमालेको प्रभावक्षेत्र मानिने इलाम नगरमा कांग्रेसका तर्फबाट लिम्बूले १३ हजार ५४२ मत प्राप्त गरेर चुनाव जितिन्। मेयरमा पनि कांग्रेसका केदार थापा निर्वाचित भए। एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङको गृहनगर इलाममा यसपटक भने एमाले पराजित भयो। उपमेयरमा एमालेकी सीतादेवी रिजाल उम्मेदवार थिइन्। उनले १० हजार ८८ मात्रै मत ल्याइन। २०४८ को स्थानीय निर्वाचनपछि कांग्रेसले पहिलोपटक इलाममा जित हासिल गरेको हो। ‘मेरो प्राथमिकता नगरको सुशासन, समृद्धि र महिला अधिकार हो,’ उत्साहित हुँदै उपमेयर लिम्बूले भनिन्।’ ७० वर्षभन्दा माथिको उम्मेदवार बन्ने उनी जिल्लामा एक मात्र महिला उम्मेदवार थिइन्।

    महिला अधिकार आन्दोलनमा लिम्बूको नाम जिल्लामै अग्रणी स्थानमा आउँछ। महिला जागरण संघ नामको संस्था स्थापना गरेर जिल्लाभर महिला जागरणको अभियानमा लागेकी लिम्बूले दुःखमा परेका महिलाहरूका लागि सहारा बनेर काम गर्दै आएकी छन्।

    लिम्बू २०४६ साल देखि नै काग्रेसमा आवद्ध भएकी हुन। ‘नागरिकको सेवा गर्ने मेरो यो अन्तिम अबसर हुन सक्छ,’ उनले भनिन्। विकृतिविरुद्ध चर्को आवाज उठाउने, उनले इलामको सहकारी अभियानलाई पनि उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याएको जनहित सहकारी संस्थाका अध्यक्ष गोपाल भट्टराई बताउँछन्। ‘विष्णु दिदीले साथ नदिएको सहकारी जिल्लामा कमै होलान्,’ भट्टराईले भने। २०३८ साल देखि नै लिम्बू सामाजिक सेवामा निरन्तरता दिइरहेकी छन्।

    त्यस्तै, लिम्बूभन्दा ३ वर्ष कान्छा तुलाराम गुरुङ सन्दकपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए। घर छेउको भगवती आधारभूत विद्यालयमा २८ वर्ष शिक्षण पेसा गरेका गुरुङ ७४ वर्षको उमेरमा गाउँपालिकाको सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार ५२ वर्षीय उदय राईलाई ९६५ मत अन्तरले पछि पार्दै गुरुङ निर्वाचित भएका हुन्।  गठबन्धनका तर्फबाट कांग्रेसका गुरुङले ४ हजार २२३ मत पाएका थिए। उनका प्रतिस्पर्धी एमालेका राईले ३ हजार २५८ मत प्राप्त गरेका थिए।

    शिक्षण पेशा छोडेर २०५३ देखि राजनीति र समाज सेवामा लागेका गुरुङ पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको सन्दकपुर गाउँपालिकालाई समुन्नत बनाउने कुशल पात्रका रूपमा चिनिने गरेको स्थानीय युवा किरण रिजाल बताउँछन्। गुरुङको कार्यपालिका टिममा सन्दकपुर गाउँपालिका–२ बाट वडाध्यक्षमा विजयी नेकपा (एस) का २३ वर्षीय सनम राईसहितका युवा अनुहारहरू छन्। गुरुङ भन्छन् ‘जाँगरीला युवाहरू साथमा छन्। विवेक र जाँगरलाई प्रयोग  गरेर उन्नत गाउँपालिका बनाउने छु।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend