बागलुङ, १० जेठ – काठेखोला गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष राजु थापाले मंगलवार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले पालिकाभित्रका बिपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा, प्रशासनिक भवन निर्माण र बाल शिक्षा सहजकर्ताको तलववृद्धि लगायतका ६ निर्णयमा हस्त्ताक्षर गरेका छन् ।
पालिकाले मंगलवार आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा अध्यक्ष थापाले सवै नागरिकले वाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न प्रत्येक बर्ष २ सय विपन्न नागरिकको निःशुल्क स्वास्थ्य विमा, पालिकाको कार्य सम्पादनका लागि आवश्यक रहेको प्रशासनिक भवन निर्माण र निवर्तमान जनप्रतिनिधीले सञ्चालन गरेका योजनालाई पूरा गर्ने जिम्मेवारी आफ्नो कामको प्राथमिकता भएको वताए ।
बाल शिक्षा सहजकर्ताको पारिश्रमिक १५ हजार पुराउने निर्णय पनि अध्यक्ष थापाले पहिलो बैठकमा गरेका छन् । अध्यक्ष थापाले उच्च शिक्षा अध्ययन अनुसन्धान कोष निर्माण, कृषी र पशुपालनमा उत्पादनका आधारमा अनुदानको ब्यवस्था, विपद कोषको स्थापना पनि पहिलो वैठकमा गरेका छन् ।
सो अवसरमा काठेखोला गाँउपालिकाका निर्वतमान अध्यक्ष अमर बहादुर थापा र उपाध्यक्ष अर्जुन खत्रीले आफ्नो कार्यकालमा संघियताको जगलाई मजवुद गराउन नियम, कानुन निर्माण गर्नेदेखि जनतालाई नजिकको सरकारको अनुभुती दिलाउन कार्य गरेको वताउदै आगामी दिनमा पनि नयाँ जनप्रतिनिधीलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सोही अवसरमा नवनिर्वाचित अध्यक्ष राजु थापा र उपाध्यक्ष तेज बहादुर थापा (तिलक) ले पदभार ग्रहण गरे । सोही अवसरमा पालिकाका कर्मचारीले नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत र निवर्तमान जनप्रतिनिधीलाई विदाई गरे ।
कार्यक्रममा काठेखोला गाँउपालिकाका निर्वतमान अध्यक्ष अमर बहादुर थापा, उपाध्यक्ष अर्जुन खत्री, गाँउ कार्यपालिकाका सदस्यहरु, गाँउ सभाका सदस्यहरुलाई फुलमाला, कदर पत्र, दोसल्ला ओढाई सम्मानसहित विदाई गरिएको थियो । नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई दोसल्ला तथा अविर लगाई स्वागत गरिएको थियो ।
सोही कार्यक्रममा नेकपा एमाले काठेखोला गाँउपालिकाका अध्यक्ष तथा प्रत्यासी डिल बहादुर कार्की, नेपाली कांग्रेस काठेखोला गाँउपालिकाका सभापति यामदत्त कंडेल लगायतले शुभकामना मन्तव्य राखे । काठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले सञ्चालन र सूचना अधिकारी मनोज कार्कीले स्वागत गरेका थिए ।