पोखरा, १३ जेठ – पोखरा महानगरपालिकाको नवनिर्वाचित मेयर, उपमेयर तथा वडा अध्यक्ष र सदस्यहरुले बिहीबार सपथ ग्रहण गरेका छन् । पोखरा सभागृहमा एक समारोहका बीच उनीहरुले सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणसँगै पोखराका मेयर धनराज आचार्यले पोखराको बुलौंदीदेखि हल्लनचोकसम्मको सडकको डिभाइडरमा फूल रोपेका छन् ।
पोखराको १५ औं मेयरको कार्यभार सम्हाल्दै धनराजले ‘मिसन पोखरा’ अघि सार्ने भएका छन् । उनले आगामी पाँच वर्ष पोखरालाई कस्तो बनाउने भन्ने कुरा योजनाबद्ध तरिकाले अघि बढाउने बताए ।
उनले पोखरा महानगरपालिकालाई व्यवस्थित र उत्कृष्ट सहर बनाउनका लागि महानगर प्रवेश गर्ने सिमाना सजावटदेखि पोखराको पहिचान हुने हरेक विषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छन् ।
उनले हिजोसम्म आ-आफ्नो पार्टीबाट निर्वाचन भएर आएपनि अब भने जनप्रतिनिधि भएको बताउँदै अब मबाट हामी भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
‘हामी पोखरा महानगरपालिकाको १५ औं सेट । प्रमुख उपप्रमुख सहितको नवनिर्वाचित टिमले सपथ ग्रहण गरेका छौँ । हामीले अब पोखरा महानगरपालिका, साँच्चिकै पोखरा एउटा सुन्दर पोखरा, सबैले हेर्न चाहेको पोखरा बनाउने कुरामा यहाँहरु सबैको सद्भाव रहनेछ, सहयोग रहनेछ र सल्लाह रहनेछ’,उनले भने, ‘हामीलाई मतदान गर्नुहुने सम्पुर्ण पोखरावासीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । पोखरालाई सबैभन्दा पहिला मुखरित गर्ने काम भनेकै यहाँहरुबाट हो । हामी सबैको एउटा साझा प्रण गरौं ‘मिसन पोखरा’ ।’
धनराजले आफ्नो मिसन पोखरालाई यसअघि नै सुरुवात गरिसकेका छन् । आफु मेयरमा निर्वाचित हुने पक्कापक्की हुँदा नै उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउनका लागि रिट्ठेपानीको डाँडा कटान र पोखराको ल्याण्डफिल साइट स्थानान्तरण गर्ने कामका लागि संघ सरकारसँग बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्दै आइसकेका छन् । धनराजको उक्त मिसनमा पोखराको अव्यवस्थित वसपार्क व्यवस्थापन गर्ने कुरा पनि रहेको छ ।
उनले पोखरा ९ पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्क र पोखरा ३२ र ३३ को लामेआहालमा नयाँ बसपार्क बनाउने योजना रहेको छ । जसले महानगरको ३३ वटै वडामा साझँपनि बस छुट्ने छ ।
उनको अर्को मिसन भनेको महानगरपालिकामा कर्मचारीको ड्युटीलाई ड्युटीफुल बनाउने रहेको छ । महानगरमा प्रशासनिक कामका लागि आउने नागरिकका लागि व्यवस्थित तरिकाले काम गर्ने र कति समय लाग्ने कसरी नागरिकलाई सरल सेवा दिने भन्ने मुख्य योजनामा रहेका छन् । ती बाहेक उनले दीर्घकालीन र अल्पकालीन योजनाहरुसमेत अघि सार्ने उनले बताए । उनले पदभार ग्रहन गर्दै ३ निर्णय समेत गरेका छन् ।
उनले न्यून आय भएका बालबालिकालाई आगामी वर्षदेखि पोषणभत्ता दिने घोषणा गरेका हुन् । उनले वडा कार्यालयको सिफारिसमा भत्ता दिने घोषणा गरे । साथै पोखरा चिनाउन सिम्बोल अफ पोखरा बनाइने उनको घोषणा छ । आगामी बजेटमा व्यवस्था गरेर उत्कृष्टलाई २ लाख रुपैया पुरस्कार दिइने उनले बताए । ‘अक्सफोर्ड विश्वविद्यालयमा जादाँ त्यहाँको सिम्बोल छ । पेरिमा पनि त्यहाँको सिम्बोल छ । अब पोखरामा पनि त्यस्तै बनाउँछौँ । त्यसका लागि सिर्जनशील युवालाई आह्वान गरिन्छ’, उनले भने । उक्त योजना १ वर्षभित्रै पूरा गरिने उनले बताए । योसँगै उनले पोरा महानगरपालिकालाई पर्यटकीय राजधानी घोषणा गर्न लिखतम प्रस्ताव पेश गर्ने निर्णय गरेका छन् ।
दोस्रो पटक उपमेयरमा विजयी भएकी मञ्जुदेवी गुरुङले अब सबैको साझा जनप्रतिनिधि भएको र नागरिकको हक हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफुलाई पोखराका नागरिकले दोस्रोपटक समेत विश्वास गरेर निर्वाचित गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहमा जनप्रतिनीधिहरु पार्टीको नभई नागरिकको सेवक हुनुपर्नेमा जोड दिए । उनले विजयी जनप्रतिनिधिलाई बधाई दिदैँ अब पाँच वर्ष कुनै पनि जतप्रतिनीधिलाई पार्टीको कार्यकर्ता भएर बस्ने छुट् नभएको बताए । उनले प्रदेश र संघ सरकारमा सरकार पक्ष र प्रतिपक्षको रुपमा पार्टी रहेपनि स्थानीय तहमा भने त्यसो गर्ने छुट नरहेको बताए । उनले प्रदेश सरकार र स्थानीय सरकारबिच समन्वयकारी भुमिका निभाउनका लागि प्रदेश सरकाले छिट्टै जनप्रतिनीधिका लागि प्रशिक्षणको व्यवस्था गर्ने धारणा राखे ।
काँध बलियो बनाउनुहो , बजेटको ओइरो लाग्छ : श्रममन्त्री श्रेष्ठ
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले नवनिर्वाचित मेयर धनराजलाई काँध बलियो बनाएर बस्न आग्रह गरेका छन् । संघ सरकार र प्रदेश सरकारले पोखरार्ला ठूलो बजेट दिने भएकाले त्यसलाई थाम्नका लागि काँध बलियो बनाउन आग्ह गरे । ‘ आगामी १५ गते बजेट आउने छ र १० गते नीति तथा कार्यक्रम आउने भएकाले मेयरसाब तपाईँ काधँ बलियो बनाएर बस्नुस’ उनले भने, ‘संघीय सरकारको तर्फबाट र प्रदेश सरकारको तर्फबाट बजेटको ओइरो लाग्छ ,तपाईँ थेग्न सक्नुस । तपाईँ काध बलियो बनाएर विकास निमार्णका लागि अघि बढ्नुस पोखरा महानगरका लागि बजेको दुःख हुँदैन् ।’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नका लागि बन मन्त्रालयले बातवरणीय प्रभाव मुल्याङ्कन नगरेको र भोलिनै आफै गएर त्यसलाई पूरा गरेर आउने प्रतिबद्धता व्यक्त गरे । उनले ल्याण्डफिल साइट क्षेत्र व्यवस्थापनका लागि समेत यही आर्थिक वर्षको बजेटमा प्राथमिकता दिएर जाने बताए ।
पर्यटकीय हिसाबले देशकै महत्वपुर्ण क्षेत्र पोखरा रहेकाले अब छिट्टै पर्यटन केन्द्रको राजधानी मन्त्रीपरिषद्बाटै घोषणा गराउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘मत गणना भइरहँदा आफु मेयर नभए पनि करिब–करिब मेयर हुन्छु भन्ने कन्र्फम भइसकेपछि वहाँ काठमाडौं आउनुभयो । मैले भन्दै थिएँ, यति चाँडो काठमाडौं नआउनुस्’, उनले भने,‘तर, मलाई फोन गरेर अन्य मन्त्री भेटघाटका लागि सहजीकरण गरिदिनुप¥यो भनेर आउनुभयो । हुने विरुवाको चिल्लो पात भनेको यहि हो । ’ राजनैतिक पार्टीको कार्यकर्ता भन्दा जनताको सेवक भन्ने भावना लिएर अघि बढ्न मन्त्री श्रेष्ठले अनुरोध गरे ।