९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
आर्थिक बर्ष ०७९/८० को बजेट

अनुदानमा सबै घरधुरीलाई विद्युतीय चुलो, ६८ वर्षमै वृद्धभत्ता, प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण


जनमञ्च संवाददाता
  • १५ जेष्ठ २०७९ , आइतबार

  • अनुदानमा सबै घरधुरीलाई विद्युतीय चुलो, ६८ वर्षमै वृद्धभत्ता, प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण

    काठमाडौं, १५ जेठ – सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत् एक घर, एक विद्युतीय चुलो अनुदान वितरण गर्ने अभियान चलाइने बताए ।

    ६८ वर्षमै वृद्धभत्ता

    सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

    अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने पनि मन्त्री शर्माले बताए ।

    यसअघि २०७४ सालमा तत्कालीन शेरबहादुर देउबा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता दिने व्यवस्था गरेपनि संसदीय निर्वाचनपछि बनेको सरकारले सो निर्णय खारेज गरेको थियो ।

    राज्य कोषमाथि चरम भार थोपर्ने गरी हचुवाका भरमा सामाजिक सुरक्षा भत्ता वितरण थाल्न र थप गर्ने निर्णय गर्न प्रमुख दलहरूबीच होडबाजी चल्दै आएको छ । २०७४ सालमा पनि नेपाली कांग्रेस नेतृत्वको चुनावी सरकारले ७० वर्ष पुगेपछि पाइने वृद्ध भत्ता ६५ वर्षकै उमेरदेखि दिन थाल्ने निर्णय गरेको थियो ।

    तर, पाँच वर्षमा वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी प्रतिबद्धता गरेर सत्तामा फर्किएको तत्कालीन नेकपाले २ हजार रहेको वृद्धभत्ता ४ हजार रुपैयाँसम्म पुर्‍याएको थियो ।

    आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, लोपोन्मुख जातिका व्यक्तिले पाउने भत्ता पनि साविकको भन्दा ३३ प्रतिशतले बढाइएको थियो ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हाल तथ्याङ्क अनुसार नेपालमा योगदानरहित सामाजिक सुरक्षा भत्ता बुझ्नेको संख्या ३५ लाख ५५ हजार छ । विभागले यो वर्ष मात्रै वृद्ध भत्ताबाहेक अन्य सामाजिक सुरक्षामा बढेको ३३ प्रतिशत भारको पूर्तिका लागि २२ अर्ब ५६ करोड ८ लाख रुपैयाँ थप निकासा गरेको छ ।

    चालु आर्थिक वर्षमा विभिन्न शीर्षकका सामाजिक सुरक्षा कार्यक्रमका लागि मात्रै २ खर्ब ५६ अर्ब ६९ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ । जबकि यो वर्ष सरकारले ११ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । यसअनुसार राजस्वबाट उठ्ने करिब २० प्रतिशत रकम सामाजिक सुरक्षामै खर्च हुने गरेको देखिन्छ । यो हिस्सा यो वर्ष थप बढ्ने छ ।

    प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण

    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् ।

    त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिने उल्लेख गरे ।

    अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइने पनि बताए । ‘युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छु,ु अर्थमन्त्री शर्माले भने ।

    यस्तै देशको जनसांख्यिक लाभको रुपमा रहेका युवाहरुको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

    यस्तै म्यादी प्रहरीको रुपमा राष्ट्र सेवामा संलग्न युवाहरुलाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रीत कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री शर्माले बताए । उनीहरुको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइनेछ । म्यादी प्रहरीलाई सञ्चित सुरक्षा दलको रुपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने छ ।

    जुम्लाको कोप्लापाटन लगायत स्थानमा हाइ अल्टिच्युट स्पोर्टस् एण्ड ट्रेनिङ सेन्टर स्थापना गर्न पनि सरकारले रकम विनियोजन गरेको छ । यस्तै काठमाडौंको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आ.व.भित्र सम्पन्न गरिने बताइएको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रीकालीन खेल खेल्न सकिने गरी स्तरोन्नती गर्न सरकारले रकम विनियोजन गरेको छ ।

    प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend