स्याङ्जा, २९ जेठ – स्याङ्जामा पनि गोलाप्रथाबाट जिल्ला समन्वय समिति (जिसस) को नेतृत्व टुंगो लगाइएको छ । जिल्लाका ११ वटा स्थानीय तहमा नेकपा एमाले र नेपाली कांगेसबाट ११-११ जना पालिका प्रमुख र उपप्रमुख निर्वाचित भएपछि जिससको नेतृत्व निर्माण गर्दा गोलाप्रथा गर्ने सहमती जुटेको हो ।
जिल्ला समन्वय समितिमा दुवै दलबाट प्रमुखसहित चार सदस्य र उपप्रमुखसहित पाँच सदस्य रहनेगरी गोलाप्रथा गर्न सहमती गरिएकोमा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपप्रमुखसहित पाँच सदस्य एमालेलाई परेको छ।
यसअघि २०७४ को निर्वाचनबाट जिससको अध्यक्ष, उपाध्यक्षसहित सबै प्यानल जितेका एमालेले यसपटक भने उपप्रमुख र ४ सदस्यमा चित्त वुझाउन बाध्य भएको छ ।
यस अगाडि पर्वत जिल्लामा गोलाप्रथाबाट जिसस नेतृत्व टुंगो लगाइएको थियो । त्यहाँ एमालेलाई प्रमुख र माओवादी केन्द्रलाई उपप्रमुख परेको थियो ।
प्रमुखसहित चार सदस्य नेपाली कांग्रेसले पाउने भएपछि पार्टीको बैठकले निर्णय गरेर उम्मेदवार टुङ्ग्याएको कांग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेसले प्रमुखमा श्रीप्रसाद जिटीसहित सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाणलाई सिफारिस गरेको छ।
एमालेले उपप्रमुखसहित पाँच सदस्यको नाम टुङ्ग्याउनका लागि अहिले छलफलमा जुटेको पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए। पार्टीको शीर्ष नेतृत्व अहिले छलफलमा रहेकाले केहीबेरमा अन्तिम नामावली सार्वजनिक गरिने उनले बताए।
जेठ ३१ गते जिससको निर्वाचन गर्ने गरी आज मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २२ जनाले मतदान गर्न पाउनेछन्।
स्याङ्जाका ११ स्थानीय तहका ९७ वडाबाट निर्वाचित भएका नगर तथा गाउँसभाका सदस्य उम्मेदवार बन्न पाउनेछन्। एघार स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २२ जनामध्ये नेपाली कांग्रेसका ११ जना र नेकपा एमालेका ११ जना छन्।
जिससमा अध्यक्ष, उपाध्यक्ष, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक, तीन अन्यसदस्य गरी कूल नौ जना निर्वाचित हुनेछन्।
जिल्लासभाका प्रमुख र उपप्रमुखमा जिससकै प्रमुख र उपप्रमुख रहने व्यवस्था छ। जिसस गठन भएसँगै जिल्लासभा गठन हुनेछ। जसमा नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख पदेन सदस्य रहनेछन्।