एक्सरसाइज अर्थात् शारीरिक व्यायाम जतिबेला गर्दा पनि यसका धेरै फाइदा छन् । तर यसमा सबैभन्दा उत्तम समयको विषयमा कुरा गर्दा महिला र पुरुषका लागि फरक हुने एउटा अमेरिकी अध्ययनले देखाएको छ ।
रिसर्चका अनुसार महिलाहरुले बिहानमा एक्सरसाइज गर्दा बढी फ्याट गुमाउँछन् भने पुरुषहरुले चाहिँ बेलुकीपख एक्सरसाइज गर्दा राम्रो हुनेछ ।
पुरुष र महिलाहरुमा हुने फरक हर्मोन, फरक जैविक चक्र, सुत्ने उठ्ने साइकलमा भिन्नताका कारण नै यस्तो भएको हुन सक्ने बताइएको छ ।अध्ययनमा ३० जना पुरुष र २६ महिलालाई सहभागी गराइएको थियो । २५ देखि ५५ को उमेरका यी सहभागी स्वस्थ र सक्रिय समूह थिए । यसपछि दुई समुहमा विभाजन गरि विभिन्न फिटनेस कार्यक्रममा १२ हप्तासम्म उनीहरुको शरीरिक प्रतिक्रियाको जाँच गरिएको थियो ।
दुई समूहमध्ये एउटाले बिहान ८ बजे एक्सरसाइज गरेको थियो भने त्यही अभ्यास अर्को समुहले बेलुकाको ८ बजे गरेको थियो । सबै सहभागीलाई विशेष रुपमा डिजाइन गरिएको खाना खान पनि दिइएको थियो ।
प्रत्येक एक्सरसाइजपछि खोजर्ताहरुले सहभागीको रक्तचाप र ‘बडी फ्याट’ को मापन गरेका थिए भने साथै उनीहरुको लचकता, बल, एरोबिक पावर पनि सुरुवातदेखि अन्त्यसम्म परीक्षण गरेका हुन् ।
१२ हप्ताको यस ट्रायलमा सहभागी सबैको समग्र स्वास्थ्य अवस्थामा सुधार आएको देखिएको थियो । अध्ययनका नेतृत्वकर्ता डाक्टर पल आर्सेरियो भन्छन्, “एक्सरसाइज गर्ने सबैभन्दा उत्तम समय भनेकै तपाईँले गर्न सक्ने समयमा आफ्नो तालिका अनुसार हो ।”
तर पुरुष र महिलाका लागि बेलुका र बिहानको समयमा यसले केही फरक पर्ने उनले स्पष्ट पारे ।
कुन भागको फ्याट घटाउन कतिबेला एक्सरसाइज गर्ने ?
अध्ययनको नतिजाका आधारमा शरीरको बीच भागको फ्याट घटाउन र रक्तचाप कम गर्न इच्छुक महिलाहरुले बिहानै एक्सरसाइज गर्नु सबैभन्दा प्रभावकारी हुन्छ । यो वास्तवमै महत्वपूर्ण हुनेछ किनकि शरीरको बीचका अङ्गहरुमा पेटदेखि कलेजोसम्म पर्दछ ।
त्यस्तै शरीरको माथिल्लो भागको मांसपेसीलाई बलियो बनाउन र समस्त रुपमा मुड अनि खानपान स्वस्थ राख्नका लागि चाहिँ बेलुकी एक्सरसाइज गर्दा ठीक हुने उनले थप बताए ।
ट्रायलका क्रममा पुरुषहरु एक्सरसाइज गर्ने समयलाई लिएर तुलनात्मक कमै संवेदनशील थिए तर पनि बेलुकाको समयमा व्यायाम गर्नु नै उनीहरुलाई बढी फाइदाजनक देखिएको हो । पुरुषहरु प्रायः पाचन प्रणाली, मुटु अनि भावनात्मक सुस्वास्थ्यको लक्ष्य राखेर एक्सरसाइज गर्ने हुँदा साँझ नै तिनका लागि उत्तम समय साबित भएको डाक्टर आर्सेरियोले बताए । पाचन प्रणालीलाई स्वस्थ राख्नु भनेकै मोटोपना, मधुमेह, मुटु रोग, स्ट्रोक जस्ता स्वास्थ्य समस्यालाई टाढा राख्नु हो ।
एक्सरसाइज जुन समयमा गर्दा पनि यसका अनेकौँ लाभ हुन्छन् तरपनि निश्चित समयले व्यक्तिमा स्वस्थकर फाइदा अझ बढाउने यस रिसर्चले देखाएको हो । बीबीसीबाट