१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

पोखरा महानगरको नीति तथा कार्यक्रम: ३ हजारलाई रोजगारी (पूर्णपाठसहित)


जनमञ्च संवाददाता
  • ८ असार २०७९ , बुधबार

  • पोखरा महानगरको नीति तथा कार्यक्रम: ३ हजारलाई रोजगारी (पूर्णपाठसहित)

    पोखरा, ७ असार – तत्कालीन पोखरा नगरपालिका हुँदाबाट सधैं पोखराका बिजुली तार भूमिगत गर्ने चर्चा भइरहन्छ । प्रत्येक वर्ष नीति तथा कार्यक्रममै समेटिँदै आएको यो योजना ०७४ सालमा पोखराको मेयरमा मानबहादुर जिसी निर्वाचित भएर आइसकेपछि पनि दोहोर्‍याएका थिए ।

    आफू निर्वाचित भएको करिब २ वर्षपछि ०७६ मंसिर २७ गते पोखरा सिद्धार्थचोकस्थित एउटा पोलमा गुजुल्टिएको तार काट्दै मेयर जिसीले भनेका थिए, ‘अब एक महिनाभित्र पोखराका मुख्यमुख्य ठाउँमा गुजुल्टो परेका तार हटेर छ्याङ्गै हुन्छ ।’

    तर, मेयर जिसीको कार्यकाल सकिँदासम्म अव्यवस्थित तारलाई भूमिगत बनाउने योजना पार लागेन नै मुख्य चोकका पोलहरुमा थप तार गुजुल्टिए । योजना र तयारीबिनै तार काटेपछि सेवाप्रदायक संस्थासमेत रुष्ट बने । अन्तिममा तत्कालिन मेयर जिसीले भनेका थिए, ‘सोचेजस्तो सजिलो हुँदैन रहेछ । केही समय लाग्ने रहेछ ।’

    अघिल्लो पटक विवादित र असफल बनेको पोखराका तार भूमिगत बनाउने योजना अहिले पोखरा महानगरले पुनः नीति तथा कार्यक्रममा समावेश गरेको छ । आगामी २ वर्षभित्र मुख्य सहरी क्षेत्रका टेलिफोन र अन्य तार हटाएर भूमिगत बनाउने घोषणा मेयर धनराज आचार्यले गरेका छन् ।

    ‘आगामी दुई वर्षभित्र प्रमुख शहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा विजुलीका तार भूमिगत गरी शहरी जोखिम न्यून गरिनेछ र सुन्दरता बढाइनेछ ।’

    पोखराका लागि लामो समयदेखि टाउको दुखाइ बनिरहेको तर, सुल्झिन नसकेको अर्को समस्या हो, पोखरा बसपार्क । लामो समयदेखि पटकपटक चुनावी घोषणामात्रै नभएर नीति तथा कार्यक्रम र वार्षिक बजेटमै समावेश भएर पनि बसपार्क व्यवस्थित हुन सकेको छैन ।

    अतिक्रमणको चर्को चपेटामा परेको पोखरा बसपार्क अहिले सुकुम्बासीले भरिएको छ । बसपार्क बनाउन सुरु गरेको ५ दशक बितिसक्दासमेत गति लिन सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको २०४ रोपनी जग्गा अहिले खुम्चिएर २५ रोपनीमात्रै बाँकी रहेको महानगरकै प्रतिवेदनमा उल्लेख छ ।

    केही दिनअघि गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले त्यहाँ अव्यवस्थित रुपमा बसोबास गरिरहेका सुकुम्बासीलाई तत्काल नहटाउने र बाँकी रहेको जग्गामात्रै बसपार्कको रुपमा प्रयोग गर्ने सार्वजनिक अभिव्यक्तिसमेत दिएका थिए ।

    महानगरले आर्थिक वर्ष ०७९-८० मा पुनः उक्त बसपार्कको क्षेत्रफल यकीन गर्ने र अव्यवस्थित बसोबासीलाई बहुतले भवन बनाएर स्थानान्तरण गर्ने योजना ल्याएको छ । पोखरा बसपार्कलाई पोखरा ३२ लामे आहालमा स्थानान्तरण गर्ने र हालको बसपार्कलाई ‘सिटी बसपार्क’ का रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने महानगरको आगामी वर्षको नीति छ ।

    त्यस्तै, अघिल्लो पटक नीति तथा कार्यक्रममा परेर पनि सफल हुन नसकेका पोखराका मुख्य र साँघुरा चोकमा फ्लाई ओभर, अन्डरपास लगायतका योजना मेयर आचार्यले पुनः नीति तथा कार्यक्रममा दोहोर्‍याएका छन् ।

    मेयर आचार्यले एक महिनाभित्र हेल्लो मेयर कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । जनगुनासो सुन्न र समाधान गर्न हेल्लो मेयर कार्यक्रमले महानगरको कार्य सम्पादनमा सहयोग पुर्‍याउने उनको विश्वास छ ।

    ६ महिनाभित्र ३ हजारलाई रोजगारी

    पोखरा महानगरपालिकाले प्रत्येक आर्थिक वर्षको पहिलो ६ महिनाभित्र ३ हजारलाई रोजगार दिने गरी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार मेयर धनराज आचार्यले नीति तथा सार्वजनिक गर्दै प्लस टु तह अध्ययन सकेका युवा लक्षित कार्यक्रम ल्याउने उद्घोष गरेका हुन् ।

    महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदिजस्ता सीप तथा तालिम दिइने मेयर आचार्यले बताए ।

    बैदामस्थित हिमागृह र रत्न मन्दिरलाई व्यवसायिक रुपमा खुला गर्ने महानगरले नीति लिएको छ । ती मन्दिर सर्वसाधारणका लागि खुला गर्न महानगरले प्रदेश सरकारसँग सहयोग लिने बताएको छ । पुरानो पोखरालाई स्मरण गर्ने गरी सांस्कृतिक ग्राम बनाउन अध्ययनसमेत सुरु हुने भएको छ ।

    ‘हिमा गृह र रत्न मन्दिर व्यवसायिक तवरले खुला गर्ने र पर्यटक प्रवद्र्धनमा सहयोग पुर्‍याउन पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘उहिलेको पोखराको स्मरण हुने गरी एक सांस्कृतिक ग्राम निर्माण गर्न अध्ययन सुरु गरिनेछ ।’ नेपाल सरकारले सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम महानगरमा पनि सुरु गर्ने मेयर आचार्यले बताएका छन् ।

    हेर्नुस् पोखरा महानगरको नीति तथा कार्यक्रम:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend