काठमाडौं, १३ भदौ – आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन्।
आयोगले निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म समय दिएकोमा उक्त समयभित्र ६८ दलले निवेदन दिएका छन्।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ भाग लिन आयोगमा यसअघि ७६ दल दर्ता भएको थियो। तीमध्ये ७ दल समानुपातिकतर्फ प्रतिस्पर्धामा भाग नलिने भएका छन्।
यी दलका निवेदन हेरेर अन्तिम नामावली प्रकाशनपछि समानुपातिकतर्फ भाग लिने दललाई भदौ १५ मा आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने तयारी पनि गरेको छ।
प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ प्रदेश नम्बर १ मा ५५ दल र मधेशमा ५९ दलले निवेदन दिएका छन्।
बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलले समानुपातिकतर्फ भाग लिन निवेदन दिएको निर्वाचन आयोगले जानकारी दिएको छ।