९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ज्येष्ठ नागरिकको उपचारका लागि घर घरमै पुग्दै स्वास्थ्यकर्मी


जनमञ्च संवाददाता
  • १४ भाद्र २०७९ , मंगलबार

  • ज्येष्ठ नागरिकको उपचारका लागि घर घरमै पुग्दै स्वास्थ्यकर्मी

    बेनी, १४ भदौ – जिल्लाको बेनी नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकको घर घरमा स्वास्थ्यकर्मी पुराएर सेवा दिन थालेको छ । पालिका मातहतका स्वास्थ्यकर्मी हरेक महिना एक दिन आफ्नो सेवा क्षेत्रका सवै ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य परीक्षण गरी सेवा दिन थालेका हुन् ।

    नगरभित्र पर्ने भए पनि प्रायः बस्ती दुर्गम क्षेत्रमा रहेका, नजिकै स्वास्थ्य संस्था नभएको र सडकको सहज पहुँच नपुग्दा सेवा लिन असहज भएकोले ज्येष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा पुर्‍याउन थालेको नगरप्रमुख सुरत केसीले वताए ।

    पालिकाले गत साउनदेखि यो कार्यक्रम सुरु गरेको हो । पालिकाभित्र हरेक वडामा रहेका हेल्थपोस्टमा कार्यरत हेल्थ असिस्टेन्ट, सिनियर अहेब, अहेब र अनमीमध्येबाट एक जना स्वास्थ्य कार्यालयमा रही बाँकीले महिनाको २०–२५ गतेभित्र ज्येष्ठ नागरिकको घरमा पुग्ने तालिका छ । ज्येष्ठ नागरिकको घरमा पुग्दा स्वास्थ्यकर्मीले साथमा सुगर नाप्ने ग्लुकोमिटर, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, ज्वरो नाप्ने थर्मोमिटर, प्रेसर नाप्ने बीपीसेट, टर्चलाइटसमेतका आधारभूत स्वास्थ्य सामग्री बोक्ने गर्छन् ।

    ‘स्वास्थ्य संस्था पुग्न नसक्ने ७० वर्षमाथिका बिरामी ज्येष्ठ नागरिक, अशक्त, अपांग तथा थला परेका बिरामी र ४५ वर्षमाथिका दीर्घरोगीको पहिचान गरी घरमै स्वास्थ्य सेवा दिने, अस्पतालमा रेफर गर्ने उद्देश्यले ज्येष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी कार्यक्रम ल्याएका हौं,’ नगर प्रमुख केसीले भने, ‘धेरै गरिब र विपन्न वर्गका बिरामी औषधोपचार नपाएर घरमै रोगले थलिएर बसेको भेट्यौं । दीर्घरोगीले नियमित औषधि छोडेर बसेका, परिवारका वयस्क सदस्य नहुँदा वृद्धवृद्धा र अपांगता भएका बढी रोगले थलिएका भेटिए ।’

    प्रमुख केसीले थपे, ‘आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्थै नभएका बिरामी पहिचान गरेका छौं । उनीहरूलाई स्वास्थ्य संस्थामा पुर्‍याउने र उपचार गर्न चुनौती थपिएको छ ।’ स्वास्थ्यकर्मीहरू ज्येष्ठ नागरिक र औषधोपचार नपाएका अशक्त, अपांगता भएकाको घरमै पुगेर उपचार गर्दा, स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति गरेका छन् ।

    वृद्धवृद्धा मात्र होइन, समाज र परिवारबाट हेय अनुभूति गरेका अति गरिब र अपांगता भएकाले पनि उपचार पाएका छन् । ‘गाउँका केही मान्छे रोग पालेर घरमै बस्छन् भन्ने सोचेकै थिइनँ । सामान्यतयाः कान नसुन्ने, बोल्ने नसक्नेलाई त सकेसम्म स्वास्थ्य संस्थामै नलगिने रहेछ,’ पुलाचौर स्वास्थ्य चौकीकी अहेब अमृता सुनारले भनिन्, ‘पुरानो घाउ पाकेर किरा पर्दा पनि स्वास्थ्य संस्थामा नआउँदा रहेछन् । घरमै गएर उपचार गर्दा खुसी भए ।’

    साउनमा ११ सय जनाको घरमा स्वास्थ्यकर्मी पुगेका छन् । ‘परीक्षण नहुँदा रोग लुकाएको अवस्थामा भटियो । केहीले औषधि सेवनमा लापरबाही गर्ने गरेको भेटेका छौं,’ बेनी नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब डिल्लीराम आचार्यले भने, ‘सेडुअल बनेको छ । पहिलो महिना दीर्घरोगीको पहिचान र स्वास्थ्य सेवाको प्रचार भएको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend