८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

हाम्रो देशः गाडी चलाउन हेलिकोप्टरबाट इन्धन


जनमञ्च संवाददाता
  • १ असोज २०७९ , शनिबार

  • हाम्रो देशः गाडी चलाउन हेलिकोप्टरबाट इन्धन
    हुम्लाको सर्केगाड गाउँपालिकाबाट सदरमुकाम सिमकोट ल्याइएको डिजेल हेलिकोप्टरबाट झारिँदै। तस्बिर : ज्योति

    सुर्खेत, १ असोज – हुम्ला सदरमुकाम सिमकोटमा ५ वर्षदेखि इन्धन कारोबार गरिरहेका लक्ष्मण ऐडीले महिनामा १५ लाख रुपैयाँ हवाई भाडा मात्रै तिर्छन् ।

    हिमपात र वर्षाको समयमा उडान अवरुद्ध भइरहने हुँदा खच्चडबाट समेत इन्धन बोकाउँदा मासिक ३५ लाखसम्म खर्च हुन्छ ।

    हवाई र खच्चड भाडा महँगो पर्ने भएकाले हुम्लामा पेट्रोल प्रतिलिटर ४ सय र डिजेल ३ सय ५० रुपैयाँमा किनबेच हुन्छ । ग्यास पनि उस्तै महँगो पर्छ ।

    नयाँ ग्यास सिलिन्डर १४ हजार र फेरेकोलाई ९ हजार रुपैयाँ पर्ने स्थानीय कमला रोकाया बताउँछिन् ।

    ‘हुम्लामा मोटर नपुग्दासम्म हामीलाई भात खान पनि धौधौ छ,’ उनले भनिन्, ‘हुम्लामा गाडी ल्याउने सरकारको वाचा कहिले पूरा हुने हो हामी त्यही प्रतीक्षामा छौं ।’ ऐडीले हेलिकोप्टरमा १५ मिनेटको १ सय ५० रुपैयाँसम्म प्रतिलिटर इन्धनको ढुवानी भाडा तिर्नुपरेको बताए ।

    सुर्खेत र नेपालगन्जमा डिजेल प्रतिलिटर १ सय ८७ र पेट्रोल १ सय ८० रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । तर हुम्लामा त्यसको दोब्बरभन्दा बढी तिर्नुपर्ने बाध्यता भएको उनले बताए ।

    स्थानीय पर्यटन व्यवसायी विजय लामाको अनुमानअनुसार वर्षमा हेलिकोप्टरमा मात्रै झन्डै एक करोड रुपैयाँ भाडा तिरेर इन्धन ढुवानी भइरहेको छ । लामासँग १४ बोलेरो, १५ वटा टिपर र २० वटा ट्र्याक्टर छन् । सुर्खेत र नेपालगन्जबाट उनले डिजेल बोकेर भए पनि हुम्लाजस्तो विकट क्षेत्रमा गाडीहरू सञ्चालनमा ल्याएको बताए ।

    भदौको पहिलो साताबाट असोजसम्म विभिन्न १७ देशका झन्डै १४ सय नागरिकहरू यो बेलामा हुम्लामा मानसरोवर कैलाश दर्शन गर्न पुगेका छन् । जसका लागि लिमीको लाप्चासम्म ट्र्याक्टर र ट्रिपरमा पर्यटक ओसार्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार हुम्लामा वर्षमा झन्डै १० करोड मूल्यको इन्धन आइरहेको छ ।

    अहिले हुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा झन्डै एक सय वटा विभिन्न गाडी चलिरहेका छन् । पहिलोपल्ट नाम्खा गाउँपालिका-१ का सोनाम लामाले २०७५ मा काठमाडौंबाट चीन हुँदै हुम्लाको सिमकोटमा टिपर र बोलेरो पुर्‍याएका थिए ।

    उनले अहिले सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म झन्डै ५ वटा गाडी चलाइरहेका छन् । ‘राष्ट्रिय सञ्जालमा सडक जोडिएको भए यस्तो दुःख न हामीलाई हुन्थ्यो, न यात्रुलाई,’ उनले भने, ‘अब सदरमुकामसम्म गाडी पुग्न ७ किलोमिटर मात्र सडक खोल्न बाँकी छ, जति छिटो गाडी खुल्छ, त्यति छिटो हुम्लीले सुख पाउँछन् ।’ सिमकोटमा इन्धनको भाउ मात्रै महँगो छैन, दैनिक उपभोग्य सामग्रीको भाउ पनि अचाक्ली छ ।

    ‘सुर्खेतबाट जहाजमा प्रतिकिलो १ सय ५० रुपैयाँ ढुवानी भाडा तिर्नुपर्छ,’ सिमकोटकै आदित्य जनरल स्टोर्सका सञ्चालक आनन्द महतले भने, ‘हामीले खाने नाफाभन्दा पनि ढुवानी भाडा महँगो भएपछि उपभोक्ता मारमा छन् ।’

    अहिले सिमकोटदेखि खार्पुको हेत्कासम्म १४ किलोमिटर गाडीमा रिजर्भ गर्दा ७ हजारदेखि ८ हजार रुपैयाँ तिर्नुपर्छ । ‘हामीले त यस्तो बाटोमा पनि जसोतसो गाडी गुडाइरहेका छौं, तेल पनि गुणस्तरको आउँदैन, त्यसैले गाडी पनि छिटो–छिटो बिग्रन्छन्,’ दैलेखबाट हुम्ला आएर गाडी चलाइरहेका कालुराम मगरले भने, ‘गाडी बिग्रिए बनाउने ठाउँ छैन, हामी आफैं मिस्त्री र ड्राइभर भएर गाडी चलाइरहेका छौं ।’

    तत्कालीन जिल्ला विकास समितिले श्रमदान र स्थानीय स्रोतबाट सिमकोटमा सडक खन्न सुरु गरेको थियो । ०५७ सालबाट सुरु भएको हुम्लाको सडक अहिलेसम्म पनि अधुरै छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend