२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

बुवाले छाडेर गएसँगै दसैँमा कहिले मन रमाएन


टीका पुन
  • १३ असोज २०७९ , बिहिबार

  • बुवाले छाडेर गएसँगै दसैँमा कहिले मन रमाएन

    बुवा साथमा हुँदाको कुरा अर्कै हुन्थ्यो। रमाएर खेले पुग्थ्यो। दिएको खाए हुन्थ्यो। भान्सामा पाकेको समयमै नखाए सेलाउँछ, छिटो खाऊ भन्ने बुवाको आवाज हुन्थ्यो। सबै कुरा अस्थायी थिए । तर बुवाको साथ सानैमा छुट्यो।

    सधैँ त हुँदै हो, दशैँमा झन् धेरै बुवाको महत्व हुन्थ्यो। आमा घर धन्दामा भुल्नुहुन्थ्यो। दशैँमा घरमा कसलाई के चाहिन्छ सबै बुवालाई थाहा हुन्थ्यो । हामीलाई दशैँ आएपछि आफ्ना फर्माइस सुनाइदिए पुग्थ्यो। उहाँले कहाँबाट कसरी ल्याउनु हुन्थ्यो थाहा हुँदैनथ्यो।  बुवा त घरको पिल्लर हुनुहुन्थ्यो। तीज र तिहारको उति चिन्ता हुँदैनथ्यो। दशैँमा त मुख्य मान्छे नै बुवा हो। बुवा हुँदासम्म मेरा दशैँ पनि उल्लासमय हुन्थे। उहाँ बितेछि कहिले पनि मेरो मन खुशी भएर दशैँ मनाएको छैन।

    बुवा हुँदासम्म हाम्रो घरमा खसी ढल्थ्यो। समाजले पनि पत्याउँथ्यो। बबा बितेछि हाम्रो घरमा खसीको मासु पनि केजीमा जोखिएर आउन थाल्यो। उहाँ हुँदा जस्तो थिएन समाजको दृष्टिकोण पनि। दिदीहरुको विवाह भइसकेको थियो। घरमा भएको दाजु बोल्न सक्नु हुन्नथ्यो।

    बोल्न सक्ने दाजुले घर छोडेर हिँडेको वर्षौँसम्म फर्किनु भएन। घरको जिम्मेवारी उठाइरहेकी म सानै थिएँ। यस्तो अवस्थामा हाम्रो परिवारलाई समाजले विश्वास नगर्नु सामान्य थियो, तर यो अविश्वासले हामीलाई बिझाउँथ्यो।

    फेरि उमेर गएर उहाँको मृत्यु भएको भए पनि सबै भुलेर रमाइन्थ्यो होला। बुवा असमयमै बित्नु भयो। उहाँलाई क्यान्सर भएको थियो। त्यो बेला क्यान्सर लागेपछि उपचार सम्भव थिएन। अहिले क्यान्सरका रोगीहरुले उपचार पाएर नयाँ जीवन थाल्दै गर्दा म बुवालाई सम्झिन्छु।

    अहिले भए बुवाको पनि उपचार हुन्थ्यो, अरुले जस्तै मैले पनि आफ्नो जिन्दगीको धेरै समय बुवासँग बिताउन पाउँथे, विशेष गरेर आमाले सानै उमेर जीवनका रंग छोडेर बाँच्नुपर्ने थिएन भन्ने लाग्छ।

    बुवाको देहान्त हुँदा म सानै थिए। घरमा आमालाई सहयोग गर्न सक्ने मबाहेक अर्को  थिएन। आमा निरक्षर हुनुहुन्थ्यो। उहाँको शरीर र मन पनि उत्ति साह्रो बलियो थिएन।

    एकातिर अल्पायुमै बुवाको मृत्यु, अर्कोतिर घर छोडेर हिँडेको छोराको पीर, आमा निक्कै गल्नुभएको थियो। बुवाको मृत्युपछि घरको जिम्मेवारी मैले उठाउनु पर्यो। बुवा हुँदासम्म बजार नदेखेकी मैले धाइरहनु पर्यो। केही नसोचेरै बुवासँग पैसा माग्ने मैले फारु गरेर सामान किन्नुपर्यो। त्यसपछि मलाई दशैँ आएको मन पर्दैनथ्यो। बुवा नहुँदाको दशैँ जिम्मेवारीको भारीले थिचिरहन्थ्यो ।

    अब त आमा पनि सक्किनुभयो। आफैँ आमा भएँ। छोराछोरी छन्। जिम्मेवारी फेरियो। विस्तारै सबै कुरामा बानी पर्दै पनि जानु पर्ने रहेछ। दशैँकै बेला मेला महोत्सव हुन्छन्। गीत गाउन जानु पर्छ। आफ्ना लागि नभए पनि आफन्तका लागि रमाउनु पर्छ। तर, बुवाआमाको अभाव महसुस भने भइरहन्छ। अरु कसैले बुवाआमाको ठाउँ लिन नसक्ने रहेछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend