८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज


जनमञ्च संवाददाता
  • २५ असोज २०७९ , मंगलबार

  • रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

    काठमाडौं, २५ असोज – नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।

    टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया-२ मा र थारुले कैलाली-५ मा उम्मेदवारी दिएका थिए ।

    ७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो । यो घटनामा संलग्नताको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । तर उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको थियो ।

    फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति उम्मेदवार भएको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले दुबैको उम्मेदवारी खारेज गरेको हो ।

    बर्दिया–२ का निर्वाचन अधिकृत नगेन्द्र लम्सालले निरन्तर कैदमा रहेका व्यक्ति कैदमा रहँदासम्म उम्मेदवार हुन नसक्ने कानुनी व्यवस्था भएकाले रेशमको उम्मेदवारी खारेज भएको बताए ।

    ‘उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ’ उनले भने, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’

    कैलाली–५ का उम्मेदवार लक्ष्मण थारु पनि फौजदारी मुद्दामा जन्मकैदको सजाय पाएको व्यक्ति भएको भन्दै निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी खारेजीको निर्णय गरेका हुन् ।

    रेशमविरुद्ध बर्दिया-२ का माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले र लक्ष्मणविरुद्ध कैलाली-५ का स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका थिए ।

    रेशम यसअघि २०७४ सालमा कैलाली-१ मा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । टीकापुर घटनामा संलग्नताको आरोपमा मुद्दा खेपिरहेका उनी फार रहेकै अवस्थामा उम्मेदवारी दर्ता गराएका थिए ।

    चुनाव जितेपछि अदालतमा आत्मसमर्पण गरेका चौधरीले पुर्पक्षका लागि थुनामै रहेका बेला ११ पुस २०७५ मा सांसद पदको शपथ लिएका थिए । २२ फागुन २०७५ मा जिल्ला अदालत, कैलालीले जन्मकैदको फैसला सुनायो भने उच्च अदालत, दिपायलले ३ पुस २०७७ मा त्यसलाई सदर गरेको थियो ।

    उनीसम्वद्ध पार्टी राजपा (पछि जसपा) ले रेमशको रिहाइको माग लगातार उठाइरह्यो, तर दुई तहको अदालतबाट फैसला भइसकेको मुद्दामा सर्वोच्चबाट फैसला नभई त्यो सम्भव थिएन ।
    आफू रिहा हुने नदेखेपछि चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गराएका थिए ।

    ३० वैशाखको चुनावमा यो दलले कैलालीको ४ वटा पालिकाको नेतृत्व जित्यो भने आसन्न प्रतिनिधिसभा र प्रदेश सभाका लागि कैलाली, कञ्चनपुर, बर्दिया लगायतका तराई मधेसका जिल्लामा उम्मेदवार उठाएको छ । रञ्जिता भने कैलाली १ बाट प्रतिनिधिसभा उम्मेदवार छिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend