८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गुल्मी-२ मा निर्वाचन: विष्टको निरन्तरता कि झाँक्रीको उदय ?


जनमञ्च संवाददाता
  • २५ असोज २०७९ , मंगलबार

  • गुल्मी-२ मा निर्वाचन: विष्टको निरन्तरता कि झाँक्रीको उदय ?

    गुल्मी, २५ असोज – झण्डै १४ महिनाअघि गोकर्ण विष्ट र रामकुमारी झाँक्री एउटै पार्टीमा थिए। पार्टीमा पनि उनीहरुको एउटै गुट थियो। नेकपा एमालेको तत्कालीन माधव नेपाल पक्षमा रहेका उनीहरु केपी ओलीले गरेको संसद् विघटनविरुद्ध आन्दोलनमा सहभागी भएका थिए।

    २०७८ साल भदौ पहिलो साता एमाले विभाजन भयो। माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरे। पार्टी विभाजनपछि गोकर्ण विष्ट एमालेमै बसे भने रामकुमारी झाँक्री एकीकृत समाजवादीमा गइन्।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि विष्ट र झाँक्री गुल्मीको क्षेत्र नम्बर २ मा आमनेसामने हुँदै छन्। दुवै जना आ–आफ्नो पार्टीका केन्द्रीय सचिव समेत हुन्।

    विष्ट र झाँक्रीसँग एमालेको भातृसंस्थाको नेतृत्व हाँकेको अनुभव पनि छ। गोकर्ण विष्ट २०५७ सालदेखि दुई कार्यकाल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको राष्ट्रिय युवा संघ नेपाल) को केन्द्रीय अध्यक्ष भएका थिए। २०६२–६३ सालको जनआन्दोलन ताका पनि उनी सो संगठनको अध्यक्ष नै थिए।

    यता रामकुमारी झाँक्री २०६५ सालमा अनेरास्ववियुको पहिलो महिला अध्यक्ष भएकी थिइन्। त्यसअघि दोस्रो जनआन्दोलनमा उनी अग्रमोर्चामा थिइन्।

    विष्ट २०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनमा सचिवमा निर्वाचित भए। सोही महाधिवेशनबाट झाँक्री एमालेको केन्द्रीय कमिटीमा प्रवेश गरिन्।

    विष्टको पार्टीको राजनीतिक यात्रासँगै संसदीय यात्रा पनि झाँक्रीको भन्दा लामो छ।

    विष्ट २३ वर्षअघि नै संसद प्रवेश गरिसकेका थिए। २०५६ सालको चुनावमा तत्कालीन गुल्मी क्षेत्र नम्बर ३ बाट उनी प्रतिनिधि सभा सदस्य बनेका थिए।

    २०६४ को संविधान सभामा पराजित भए। २०७० को संविधान सभा र २०७४ को संसदीय चुनावमा विजयी भएका थिए। विष्ट २ पटक मन्त्री भइसकेका छन्।

    संसदीय र पार्टी राजनीतिमा ढिला प्रवेश गरे पनि २०६२–६३ को जनआन्दोलन अघिदेखि नै झाँक्री पनि चर्चित अनुहार बनिन्।

    झाँक्रीले २०७४ सालको चुनावमा समानुपातिक सांसदको रुपमा संसदीय यात्रा थालेकी हुन्। पार्टी विभाजनपछि एकीकृत समाजवादीको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा शहरी विकास मन्त्री बनिन्। मन्त्री बन्दा, रहँदा र छोड्दा उनको निकै चर्चा भयो।

    विगतमा रामकुमारी झाँक्री पनि गोकर्ण विष्टको चुनावी प्रचारको सहयात्री थिइन्। तर यसपटक उनै विष्टको प्रतिस्पर्धीका रुपमा उनी उभिएकी छन्। झाँक्रीलाई कांग्रेस र माओवादी केन्द्रको साथ छ।

    यसले विष्टलाई चुनाव जित्न पहिलेजस्तो सहज भने छैन। गुल्मीको पश्चिम भेगकाले नयाँ अनुहार खोजेमा उनको संसदीय यात्रा तत्कालका लागि रोकिन सक्छ।

    विगतमा उर्जामन्त्री हुँदा राम्रो छवि बनाएका र तुलनात्मक रुपमा खासै आलोचना नहुने विष्टको सकारात्मक पाटो हो। गत चुनावको मतले पनि विष्टलाई निराश पारेको छैन।

    रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट खारिएर आएकी हुन्। यो पटक कांग्रेस र माओवादी केन्द्रको साथ उनले पाउने छिन्। त्यस्तै आफ्नो व्यक्तिगत प्रभावका कारण युवा पुस्ता र कतिपय एमालेकै मत पनि उनले तान्न सक्ने अनुमान गर्न सकिन्छ।

    तर स्थानीय तहको मतपरिणामलाई आधार मान्दा एकीकृत समाजवादी गुल्मीमा निकै कमजोर देखिन्छ। गठबन्धनका दलले पुरापुर साथ दिएनन् भने उनलाई जित निकाल्न गाह्रो छ।

    केही साताअघि एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र जिल्ला अध्यक्ष लगायतका कार्यकर्ता एमालेमा प्रवेश गरेपछि रामकुमारीलाई धक्का लागेको छ।

    अर्कोतर्फ, उनको क्षेत्रबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश योजना आयोगका सदस्य दामोदर भुसालले बागी उम्मेदवारी दिएका छन्। भुसालले उम्मेदवारी फिर्ता नलिए झाँक्रीको पक्षमा जाने कांग्रेसको केही मत काटिन पनि सक्छ।

    गत वैशाखमा भएको स्थानीय चुनावमा गुल्मी क्षेत्र नम्बर २ मा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले कुल ३१ हजार २५३ मत ल्याएका थिए।

    एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरुको कुल मत ६५८ आएको थियो। कांग्रेसको २९ हजार ८२१, माओवादी केन्द्रको १ हजार ८४१ आएको थियो। यसर्थ पनि झाँक्रीको जितको लागि कांग्रेस र माओवादी केन्द्रको इमान्दार साथ आवश्यक पर्छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend