८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सुताइको आसन नमिल्दा समस्या, सुत्ने कसरी ?


विरासन राजभण्डारी
  • १३ कार्तिक २०७९ , आइतबार

  • सुताइको आसन नमिल्दा समस्या, सुत्ने कसरी ?

    भोजन, व्यायाम जत्तिकै अपरिहार्य छ आराम पनि । शरीरलाई निश्चित अवधि पूर्ण आराम जरुरी हुन्छ । त्यसैले हामीलाई निद्रा लाग्छ । गहिरो निद्रा आफैंमा ओखतीसमान मानिन्छ ।

    गहिरो निद्रा कसरी पाउने त ? यसबारे धेरै खोज र अभ्यास भएका छन् । साथै सुत्ने तरिका अझ भनौं आसनबारे पनि सोधीखोजी हुने गरेका छन् ।

    सुत्ने कसरी त ? सामान्य लाग्छ, तर सुताइको तरिका सही नहुँदा हाम्रो शरीरले समुचित कार्य गर्न सक्दैन । पूर्ण आराम अनुभव गर्न सक्दैन । त्यसैले सुत्ने तरिका पनि जान्नुपर्छ । सुतेको बखत शरीरका अन्य कतिपय प्रक्रिया र अंग सक्रिय हुन्छ । यसका लागि सही किसिमको सुताइ जरुरी हुन्छ । त्यसो भए कसरी सुत्ने त ? कता फर्किएर सुत्ने ? हात–खुट्टा र टाउकोलाई कस्तो स्थितिमा राख्ने ?

    दक्षिणतर्फ शिर

    सुत्दा दक्षिणतिर शिर  पार्नुपर्छ भनिन्छ । ग्यास्ट्रिकका बिरामीले पनि यो दिशामा सुत्नु राम्रो भनिन्छ । तर यही दिशामा फर्केर सुत्नुपर्छ भन्ने छैन । आफूलाई सजिलो हुने पोजिसनमा जुन दिशामा फर्केर सुते पनि हुन्छ ।

    देब्रेतर्फ कोल्टे

    देब्रेतर्फ कोल्टे फर्किएर सुत्नु राम्रो मानिन्छ । यसरी सुत्दा भित्री अंगहरुको कार्य सञ्चालन राम्ररी हुन पाउँछ । मेरुदण्ड सोझो स्थितिमा रहनु उत्तम हो । खुम्चिएर, घोप्टिएर सुत्नु राम्रो होइन ।

    साथै सिधा उत्तानो तथा कोल्टे दुवै आसनमा सुत्नु राम्रो हुन्छ । तर उत्तानो आसनमा सुत्दा एकदमै धेरै तन्किएर र कोल्टे परेर सुत्दा धेरै कोल्टिएर खुम्चिएर सुत्नु हुँदैन । कोल्टे सुत्दा होस् वा उत्तानो परेर सुत्दा आफूलाई सहज हुने आसन र पोजिसनमा सुत्नु राम्रो हुन्छ । घाँटीको ‘ग्याप’ पुर्ने खालको ठिक्कको सिरानी राखेर सही पोजिसनमा सुत्नुपर्छ ।

    केही व्यक्तिमा मेरुदण्डको समस्या र नसा च्यापिएको समस्या छ भने चाहिं सुत्ने पोजिसन सामान्य व्यक्तिको भन्दा फरक हुन सक्छ ।

    मेरुदण्ड र नसामा प्रभाव

    यसरी सही पोजिसनमा सुत्दा मेरुदण्ड, नसा लगायत अंगलाई फाइदा पुग्छ । साथै सही पोजिसनमा सुत्दा राम्ररी निद्रा लागेर शरीरको भित्री अंगमा पनि केही न केही फाइदा पुग्छ ।

    रक्तप्रवाह र श्वासप्रश्वासमा सहज

    पोजिसन मिलाएर सुत्दा निद्रा पनि राम्ररी लाग्छ । यसले मेरुदण्डको हड्डी खिइने, नसा च्यापिनेजस्ता समस्याबाट बचाउँछ । सही पोजिसनमा सुत्दा रक्तप्रवाह र श्वासप्रश्वास गतिविधिमा पनि सहयोग पुग्छ ।

    लचकदार बिछ्यौना हानिकारक

    पहिले पातलो डस्नाको प्रयोग गरेर गुन्द्रीमा सुत्ने चलन थियो । अहिले भने धेरै मोटो लचकदार म्याट्रेसको प्रयोग गरेर सुत्ने चलन छ । धेरै लचकदार मोटो बिछ्यौनामा नसुत्नु नै राम्रो हुन्छ । यसले मेरुदण्डको हड्डी खिइने समस्या निम्त्याउन सक्छ । अन्यथा म्याट्रेस तथा डसना ठिक्क मोटाइको छ भने यी दुवै बिछ्यौनामा सुत्न सकिन्छ ।

    मझौलो सिरानी

    सिरानी धेरै ठूलो, साह्रो र धेरै पातलो पनि हुनु हुँदैन । धेरै ठूलो र साह्रो भयो भने यसले गर्धनको कुरकुरे हड्डी खिइने समस्या निम्ताउन सक्छ । त्यस्तै धेरै पातलो भयो भने पनि गर्धन दुख्ने समस्या हुन सक्छ । ठिक्क मोटाइ भएको जसले टाउको र गर्धनको ग्यापलाई पुरोस् त्यस्तो सिरानीको प्रयोग गर्नुपर्छ ।

    नसा च्यापिने जोखिम

    सुताइको आसन नमिल्दा नसा च्यापिने र हड्डी खिइने समस्या देखिन सक्छ । सुताइको आसन नमिल्दा हड्डी खिइएको र नसा च्यापिएको समस्या लिएर धेरै जना अस्पताल आउने गर्छन् ।

    यस्तो सुताइ घातक

    सुताइको पोजिसन मिल्यो भने राम्रो निद्रा लाग्नुका साथै विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । त्यसैले पोजिसन मिलाएर सुत्नु आवश्यक छ । गलत पोजिसन जस्तै धेरै तन्किएर सिधा भएर सुत्नु र धेरै नै कोल्टिएर ढाड खुम्चाएर सुत्नु घातक हुन्छ ।

    (फिजियोथेरापिस्ट डा. राजभण्डारीसँग सुमित्रा लुइटेलले गरेको कुराकानी आधारित)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend