बागलुङ, २४ कात्तिक– सत्ता गठबन्धनका दलहरुले सदरमुकाम बागलुङ बजारमा कोणसभामार्फत बुधवारदेखि घरदैलो अभियान थालेका छन् ।
यसअघि ग्रामीण बस्तीका कार्यक्रममा व्यस्त नेता तथा कार्यकर्ताले बजार केन्द्रीत अभियान थालेका हुन् । बुधकार कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको उपस्थितिमा कोणसभा गरेर प्रदेश सभा उमेदवार दिपेन्द्र थापा र ५ दलीय गठबन्धनका नेताले प्रचार तथा घरदैलो अभियान थालेका हुन् ।
कार्यक्रममा बोल्दै शर्माले गठबन्धन चुनावसम्म मात्र नभइ आगामी निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्ने गरी लम्बिने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुशताविरुद्ध दलहरु गोलबद्ध भएको भन्दै भ्रष्टाचार नियन्त्रण र बिकासमा साझेदारीकालागि पनि गठबन्धन जारी रहने बताए ।
कार्यक्रममा प्रदेशसभाका उमेदवार दिपेन्द्रबहादुर थापाले यो निर्वाचनले अग्रगमन र पश्चगमनको फैसला हुने, जनताको अधिकार रक्षा गर्ने र अधिकार हनन् गर्ने बीचको फरक देखिने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्का, राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी, नेकपा एसका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रतन मलेपती लगायतले बोलेका थिए । राजमो नगर अध्यक्ष थानेश्वर सुवेदीको संचालन र कांग्रेस प्रदेश सभापति हरिबहादुर जिसी सन्तोषको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
बुधवारबाटै युवा, महिला, तरुण सहित पेशागत संघसंस्था समेतले समूह बनाएर घरदैलो तथा जनभेटघाट कार्यक्रम गरिरहेका छन् । पछिल्लो समय फेरिएको मतदाताको शैलीलाई दलका नेताले फेरेर घरघर पुगेको बताए । घरमा नभेटिएकालाई उमेदवार र अगुवा कार्यकर्ताले फोन गरेर मत मागेका छन् ।