९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कम्युनिष्ट पार्टीका महासचिव: पार्टीमा जिते, संसदमा हारे


जनमञ्च संवाददाता
  • ८ मंसिर २०७९ , बिहिबार

  • कम्युनिष्ट पार्टीका महासचिव: पार्टीमा जिते, संसदमा हारे

    बागलुङ, ८ मंसिर – कम्युनिष्ट पार्टीमा संगठन विभाग हाँक्ने पद मुख्य मानिन्छ। पार्टीका सदस्यहरुको व्यवस्थापन, नेताहरुको रिपोर्ट लिने, रेकर्ड राख्नेदेखि वैचारिक, सैद्धान्तिक प्रशिक्षण, नयाँ कार्यक्रम गर्ने र सदस्यलाई चलायमान बनाउने काम गर्ने पद हो-महासचिव।

    नेपालमा संसदीय राजनीति गरेकामध्ये दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रको पनि संगठन, पार्टी सदस्य चलाउन महासचिव पद राखेका छन्।

    एमालेमा अहिले महासचिव पदमा शंकर पोखरेल र माओवादी देवप्रसाद गुरुङ छन्। अध्यक्षपछिका शक्तिशाली महासचिव पदमा रहेका यी दुई नेता यो पटकको संसदीय निर्वाचनमा फेल भएका छन्।

    प्रतिनिधि सभातर्फ ४ मंसिरमा भएको चुनावमा एमाले र माओवादी दुवैका महासचिव चुनावी प्रतिस्पर्धामा थिए, दाङ-२ बाट एमाले महासचिव पोखरेल र लमजुङबाट माओवादी महासचिव गुरुङ।

    तर, यी दुवै महासचिवले चुनावमा नमिठो पराजय व्यहोरेका छन्। संयोग कस्तो भयो भने, पोखरेललाई माओवादीकी स्थायी समिति सदस्य रेखा शर्माले हराइन्।

    यस्तै गुरुङलाई एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले हराए।

    पोखरेललाई हराउने माओवादी स्थायी समिति सदस्य शर्मा संसदीय राजनीतिमा पहिलो पटक प्रत्यक्ष चुनाव लडेकी हुन्।

    तर, पृथ्वी सुब्बा गुरुङ लामो समयदेखि संसदीय चुनाव लडेका नेता हुन्। २०७४ मा उनी लमजुङबाट प्रदेश सभा चुनाव जित्दै मुख्यमन्त्री बनेका थिए।

    शंकर पोखरेल र देव गुरुङको समानता पनि छ, यी दुवै नेता सैद्धान्तिक र सांगठनिक कौशल भएका रुपमा चिनिन्छन्।

    पोखरेल दाङ प्रदेश सभाबाट २०७४ को चुनाव जितेर मुख्यमन्त्री बनेका थिए। उनले संसदीय राजनीति थालेयताका प्रतिनिधि सभाका कुनै चुनाव जित्न सकेका छैनन्।

    केन्द्रीय संसदमा २८ वर्षदेखिको हारको इतिहास अन्त्य गर्दै पहिलो जितको खोजीमा रहेका पोखरेलको तगारो रेखा शर्मा हुन पुगिन्।

    उता देव गुरुङ भने चौथो जितको खोजीमा थिए, उनको विजय यात्रामा पृथ्वीसुब्बा गुरुङले ब्रेक लगाइदिए।

    नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका दुवै महासचिवले एउटै चुनावमा पराजय व्यहोरेको संभवतः यो पहिलो पटक हो। त्यसमा पनि कम्युनिष्टबाटै दुवै पराजित हुन पुगे।

    २०७४ को चुनावमा एमाले-माओवादी तालमेलबाट चुनाव जित्दै पार्टी एकीकरण गरेर नेकपामा रहेका यी नेताहरु अहिले भने प्रतिस्पर्धामा थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend