९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

किन पूरा भएन प्रचण्डको ‘शेर-ए-गोरखा’ बन्ने धोको ?


सीताराम बराल
  • ८ मंसिर २०७९ , बिहिबार

  • किन पूरा भएन प्रचण्डको ‘शेर-ए-गोरखा’ बन्ने धोको ?

    आमनिर्वाचन-२०७४ मा विजय हासिल गरेको चितवन–३ यसपटक खतराजनक रहेको बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक गोरखा-२ रोजे।

    तर्क गर्न माहिर प्रचण्डले गोरखाका चुनावी सभाहरुमा भन्ने गरेका थिए, ‘अन्य निर्वाचन क्षेत्रमा समेत प्रचार गर्न जान सजिलो होस् भनेर मैले गोरखा-२ रोजेको हुँ।’

    सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनी भन्ने गर्थे, ‘ऐतिहासिक मतअन्तरसहित विजय हासिल गर्नका लागि म गोरखा–२ मा प्रतिस्पर्धा गर्न गएको हुँ।’

    ‘गोरखा-२ हामी जित्छौँ, तर चानचुने मतअन्तरले जितेर हुँदैन,’ गोरखाबाट उम्मेदवारी दर्ता गरेपछि प्रचण्डले सत्ता गठबन्धनका आन्तरिक भेलाहरुमा भन्ने गरेका थिए, ‘ऐतिहासिक रेकर्ड कायम हुने गरी जित्नुपर्छ।’

    खासमा स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारभन्दा सत्ता गठबन्धनका उम्मेदवारहरुले प्राप्त गरेको मतसंख्या निकै बढी रहेकाले प्रचण्ड ऐतिहासिक मतअन्तर कायम गरेर जित्ने आशामा थिए।

    सत्ता गठबन्धनमा आवद्ध दलहरुमध्ये स्थानीय तह निर्वाचनमा गोरखा–२ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले २२ हजार २ सय ५०, कांग्रेसका उम्मेदवारहरुले २१ हजार १ सय ३६ र जसपा ९डा।बाबुराम० उम्मेदवारहरुले ७ हजार ५ सय ४ मत प्राप्त गरेका थिए।

    सत्ता गठबन्धनका उम्मेदवारहरुले गोरखा-२ मा प्राप्त गरेको मत ५१ हजार ३ सय १२ थियो।

    सो क्षेत्रमा एमाले उम्मेदवारहरुले ७ हजार ९ सय २६ मत मात्र प्राप्त गरेका थिए।

    अर्थात् एमालेको तुलनामा सत्ता गठबन्धनका उम्मेदवारले गोरखा-२ मा साढे ६ गुणा बढी मत प्राप्त गरेका थिए।

    सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुबीच स्थानीय तहमा रहेको यही मतअन्तर कायम गर्दै प्रचण्डले यसपटक गोरखा-२ बाट विजय हासिल गर्न सकेको भए उनलाई करिब ४३ हजार मतको अग्रता प्राप्त हुने थियो।

    र, यो नेपालको चुनावी इतिहासमा साँच्चिकै ऐतिहासिक मतअन्तर पनि सावित हुने थियो।

    किनकि हालसम्म सबैभन्दा बढी मतान्तरका साथ विजय हासिल गर्ने उम्मेदवार हेमबहादुर मल्लले कायम गरेको मतान्तरको रेकर्ड ३९ हजार १ सय ५० हो।

    २०४३ को आम निर्वाचनमा उनी धनुषाबाट सो मतअन्तरसहित राष्ट्रिय पञ्चायतमा चुनिएका थिए।

    रोचक चाहिँ के भने यो मतअन्तर पनि उनकै पत्नी शारदा मल्लसँग कायम भएको थियो।

    धनुषाबाट राष्ट्रिय पञ्चायतमा दुई जना सदस्य निर्वाचित हुने भएकाले पति-पत्नी हेमबहादुर मल्ल र शारदा मल्ल दुवै विजयी भएका थिए।

    त्यो निर्वाचनमा हेमबहादुरलाई ९३ हजार १ सय ४९ मत प्राप्त भएको थियो भने शारदाले ५३ हजार ९ सय ९६ मतसहित दोस्रो स्थानमा रहेर विजय हासिल गरेकी थिइन्।

    त्यही जितमा दुई रेकर्ड बनेका कारण मल्लको परिचय ‘शेर–ए–धनुषा’ को रुपमा बन्यो। नेपालको इतिहासमै ‘सबैभन्दा बढी मत’ र ‘सबैभन्दा बढी मतअन्तर’ त्यो बेला बनेको रेकर्ड थियो। त्यहीकारण उनले ‘शेर–ए–धनुषा’ को परिचय पाएका थिए।

    यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन।

    धनुषामा भन्दा गोरखा-२ मा कम मतदाता रहेकाले प्रचण्डले सबैभन्दा बढी मत प्राप्त गर्ने नेताको रेकर्ड बनाउन सक्ने सम्भावना थिएन। तर, स्थानीय तह निर्वाचनमा रहेको गठबन्धन र एमालेबीचको मतअन्तर जोगाउन सकेको भए ‘शेर–ए–धनुषा’ को दोस्रो रेकर्ड भने उनले तोड्न सक्थे।

    अर्थात्, ‘नेपालको इतिहासमा सबैभन्दा बढी मतअन्तरले जित्ने नेता’ को रुपमा उनको परिचय बन्ने थियो।

    यही कारण गोरखामा गठबन्धनका कार्यक्रमहरुमा उनी ऐतिहासिक मतअन्तर कायम गर्ने गरी चुनावमा होमिन निर्देशन दिइरहेका हुन्थे।

    तर, अहिलेसम्मकै बढी मतान्तरका साथ चुनाव जितेर ‘शेर–ए–गोरखा’ बन्ने उनको धोको पुरा भएन।

    अहिले प्रचलनमा रहेको ‘भारी मतान्तरले जित’ भन्नेबाहेक अन्य ‘चुनावी पगरी’ गुथ्ने मौका उनले पाएनन्।

    १३ हजार ४ सय ६६ मतअन्तरसहित विजयी हुँदा प्रचण्डले २६ हजार १ सय ३ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत प्राप्त गरेका छन्।

    ‘शेर-ए-गोरखा’ बन्ने धोकोसहित गोरखा-२ गएका प्रचण्डले जति मत प्राप्त गरेका छन्, त्योभन्दा निकै धेरै मतअन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा कायम गरेका छन्।

    ओली त्यहाँ ५२ हजार ३ सय १९ मतसहित विजयी भएका छन्। ओलीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका छन्। ओलीले २८ हजार ५ सय ७६ मतअन्तर कायम गरेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend