८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
‘बाटो बिर्सिएर हराउन सकिन्छ, धेरै हिउँ पर्दा बाटो नदेखिन सक्छ, यी सबैका लागि तयार भएरमात्रै एकल यात्रा गर्न सकिन्छ ।’

दिवस गुरूङ: जसले ४७ दिनसम्म एक्लै पैदल हिँडेर पार गरे धौलागिरी कर्णाली फेरो


जनमञ्च संवाददाता
  • २० मंसिर २०७९ , मंगलबार

  • दिवस गुरूङ: जसले ४७ दिनसम्म एक्लै पैदल हिँडेर पार गरे धौलागिरी कर्णाली फेरो

    एकल यात्रा गर्ने दिवसकाे विशेष रुची हो । खानेकुरा, न्यानो लुगा, टेन्ट, पानीले भरिएको गहु्रंगो झोला बोकेर एक्लै महिनौं दिनसम्म हिँडिरहन उनलाई रमाइलो लाग्छ । यसरी उनलाई नेपाल घुम्न मन लागेको भने भूकम्प गएपछि मात्रै हो ।

    पाेखराका दिवस गुरूङ सन् २०१५ मा विनाशकारी भूकम्प गएकाे बेलामा साथीहरूसँग राहत बाँड्न गोरखा पुगेका थिए । त्यतिबेला  गाेरखा पुग्दा नेपाल पुरै घुम्नु पर्ने रहेछ भन्ने लाग्यो गुरुङलाई ।
    भूकम्प गएलगत्तै नाकाबन्दी भयो । नाकाबन्दीका समयमा साइकल चढ्न सुरू गरे । उनी साइकलमा एक्लै पोखरा आसपास घुम्न निस्किन्थेँ । यसले गर्दा उनमा झन् एकल यात्राका लागि आत्मविश्वास बढ्न थाल्यो ।

    मुस्ताङको कागबेनीदेखि रारा तालसम्म पैदलै एकल यात्रा गरेका दिवस भन्छन्, ‘सन् २०१८ मा एक्लै साइकल यात्रा गर्ने योजना बनाएँ । त्यो मेरो पहिलो लामो एकल यात्रा थियो । साइकलमा ४२ दिनसम्म नेपालको पूर्वी भाग घुमेँ ।’

    पर्यटन वर्ष २०२० को प्रचार प्रसार गरेका उनले रक्तदान र साइकल यात्राबारे जनचेतना जगाउने उद्देश्यले त्यतिबेला प्रदेश १ को १३ वटा जिल्ला र तराईका अन्य गरि २९ जिल्ला सोलो साइक्लिङ समेत गरे  ।

    वन विज्ञानका विद्यार्थी दिवस सोलो साइकल यात्रा गरेपछि विस्तारै बन्दिपुर, घलेगाउँ क्षेत्रमा एकल पदयात्रामा जान थाले । वरिपरि एक्लै घुम्न थालेपछि टाढा जान पनि सकिन्छ भन्ने उनलाई लाग्यो ।

    ‘एक्लै हिँड्दा आफूखुशी स्वतन्त्र हुन पाइन्छ । धेरैभन्दा धेरै मानिससँग घुलमिल हुन पाइन्छ’ दिवस थप्छन्, ‘म प्रायः होटलमा भन्दा स्थानीय व्यक्तिहरूको घरमा बस्ने, नयाँ कुरा खोज्ने, सोध्ने गर्न मन पराउँछु ।’

    उनले यही वर्ष साउन र भदौमा ३५ दिन गुरिल्ला पदयात्रा पनि गरे । यो पनि उनको एकल पदयात्रा थियो । गुरिल्ला पदमार्ग बागलुङ, रुकुम, रोल्पामा पर्छ । यो बाटोलाई  द्वन्द्व कालमा माओवादीका छापामार हिँडेको भएर गुरिल्ला नाम राखिएको हो । बागलुङबाट सुरू भएको एकल यात्रा उनले रुकुम हुँदै रोल्पाका विभिन्न भूभागहरू घुमेका थिए ।

    ‘उच्च हिमाली क्षेत्र भएकाले लेक लाग्ने, पानी परिरहेको समय भएकाले पहिरो जाने, बाटो बिग्रिने, ढुंगा खस्ने जोखिम थियो’ दिवस भन्छन्, ‘यसैले गर्दा केही समस्या पर्यो भने सबै आफैंले ‘ह्यान्डल’ गर्नुपर्छ भनेर मानसिक रुपमा तयार थिएँ ।’

    यात्रा, त्यसमा पनि एक्लै धेरै दिनसम्म हिँडेर कठिन भूधरातल पुग्ने भनेपछि जोखिम त हुन्छ नै । दिवसलाई यसपटकको कर्णालीको यात्रा मौसम र भौगोलिक विकटताका कारण जोखिमपूर्ण लागेको थियो ।

    मुस्ताङको कागबेनीबाट हिँडेर डोल्पा, जुम्ला, मुगु हुँदै खप्तड पुग्ने गरि ४५ दिनको यात्रा योजना बनाएकाे भएपनि उनी पारिवारिक कारणले खप्तडसम्म पुग्न भने सकेनन् ।

    कर्णाली पर्यटनमा पछि परेका कारण पनि पर्यटकको नजरमा नपरेका गन्तव्यको प्रचारप्रसार गर्ने उनको उद्देश्य थियो । त्यसैले कर्णालीलाई केन्द्रमा राखेर यात्रा सुरू गरेकाे उनकाे भनाइ छ ।

    divash gurung

    कठिन भूधरातलका कारण कर्णालीको यात्रा अन्य ठाउँको भन्दा बढी चुनौतीपूर्ण मानिन्छ । ‘उच्च हिमाली क्षेत्र भएकाले लेक लाग्ने, पानी परिरहेको समय भएकाले पहिरो जाने, बाटो बिग्रिने, ढुंगा खस्ने जोखिम थियो’ दिवस भन्छन्, ‘यसैले गर्दा केही समस्या पर्‍यो भने सबै आफैंले ‘ह्यान्डल’ गर्नुपर्छ भनेर मानसिक रुपमा तयार थिएँ ।’

    दशैं नजिकिनै लाग्दा उनी यात्राका लागि पोखराबाट निस्केका थिए । ठाउँ ठाउँमा पहिरो गएर बाटो थिएन, खोला तर्नुपर्ने, भिरभिरै जानुपर्ने अवस्था थियो । पानीले गर्दा बाटो बगाएर कतिपय ठाउँमा आफैंले बाटो बनाएर रारासम्म पुगेकाे कठिन पल उनका लागि अविस्मरणीय बन्याे ।

    ‘घोडा एकातिर र म अर्कोतिर पुगेछौँ । त्यो रात घोडा भेटिनँ, झोला घोडाले बोकेको थियो, स्लिपिङ ब्याग घोडासँगै थियो । चिसोमा त्यो रात बाटोमै टेन्ट हालेर ब्याग प्याक नै ओढेर सुतेँ’ यात्राको एक कठिन अनुभव सुनाउँदै दिवसले भने, ‘त्यतिबेला ५ हजार मिटरको उचाइमा थिएँ । चिसो अत्यधिक थियो । भाग्यवश भन्नुपर्छ, बिरामी परिनँ ।’

    मुस्ताङबाट डोल्पा निस्किँदा पदमार्गमा ५००० मिटरभन्दा अग्ला भन्ज्याङहरू पार गर्नुपर्छ । मुस्ताङबाट डोल्पा जाने बेलामा दुईवटा ठूला पासहरू निवाला पास, जुंबेला पास कट्नु पर्नेथ्यो । यी दुई लेक काटेरमात्रै डोल्पा पुग्न सकिन्छ । दशैं सुरू हुनै लाग्दा उनी त्यहीँ पुगेका थिए ।

    दुई/तीन दिनसम्म आसपास कुनै बस्ती नभएको बाटो हिँड्नुपर्ने भएकाले त्यतिबेला बस्ने, खाने सबै आफैँ व्यवस्था गर्नुपथ्र्यो । ‘त्यो बाटोमा वरिपरि होटलहरू पनि छैनन, टेन्ट, ग्यास, भाडाकुँडा, खानेकुरा सबै आफैं लिएर गएको थिएँ, झोला २५ किलोभन्दा बढी तौलको थियो,’ दिवसले भने ।

    दुनई नपुगेसम्म बस्ती नै छैन । दुनई पुग्न ४ दिन हिँड्नुपर्छ । हिँड्दा हिँड्दै ५ हजार मिटरको उचाइमा भएको डोल्पाको याकखर्क पुग्दा हिउँ पर्न थाल्यो । दशैंको अघिल्लो दिनदेखि ४ दिनसम्म लगातार हिउँ पर्यो । याकखर्कमा मानव बस्ती छैन । त्यहाँ नजिकै टेन्ट हालेर बनाएको चियापसल र छेउमा धर्मशाला थियो । हिउँ परेपछि ४ रात दिवस त्यहीँ अड्किए ।

    ‘आँखैअगाडि हिमाली गाउँका बासिन्दाहरूको जीवनशैली बुझ्न र देख्न पाउने अवसर आफूलाई यात्राले दिएको उनले महसुस गरेका छन् । डेढ महिना लगातार हिँड्दा शरीर थाके पनि उनको मन कहिल्यै थाकेन । यात्रा रोमाञ्चक भयो ।’

    विस्तारै मौसम सुधार भएपछि मात्रै उनी दुनई बजार लागे । एक्लै हिँडे पनि बाटोमा खासै समस्या भएन । तर डोल्पा पुग्ने बेलामा उनले एकदिन बाटो बिराएछन् ।

    मुस्ताङको अन्तिम गाउँ सान्टाङबाट अर्को बस्ती पुग्न ३ दिन लाग्थ्यो । त्यो यात्रा २ दिनमा पुरा गरे गाउँ पुगिन्छ भनेर उनी हिँडेका थिए । त्यतिबेला आधा बाटोसम्म सामान बोक्न घोडा पनि उनले लगेका थिए । तर बाटो बिर्सेर ९ बजेसम्म त्यसै हिँडिरहेको दिवस सुनाउँछन् ।

    ‘घोडा एकातिर र म अर्कोतिर पुगेछौँ । त्यो रात घोडा भेटिनँ, झोला घोडाले बोकेको थियो, स्लिपिङ ब्याग घोडासँगै थियो । चिसोमा त्यो रात बाटोमै टेन्ट हालेर ब्याग प्याक नै ओढेर सुतेँ’ यात्राको एक कठिन अनुभव सुनाउँदै दिवसले भने, ‘त्यतिबेला ५ हजार मिटरको उचाइमा थिएँ । चिसो अत्यधिक थियो । भाग्यवश भन्नुपर्छ, बिरामी परिनँ ।’

    divash gurung

    भोलिपल्ट दिउँसोतिर मात्रै उनले घोडा र त्यही टेन्ट हालेर बनाएको चियापसल भेट्टाए । योबाहेक बाटोमा अरु ठूला समस्या केही भोग्नु परेन । उनको यो लामो यात्रा सुरक्षित र सफल भयो ।

    दिवस यात्राका क्रममा बाटोमा पर्ने गाउँ र ती गाउँका मानिसहरुसँग जतिसक्दो घुलमिल हुन्थे । एक्लै, झोला बोकेर आफूलाई मन परेको ठाउँमा घुम्न, स्थानीयसँग भलाकुसारी गर्न पाउँदा स्वर्ग पुगेजस्तै लाग्थ्यो उनलाई ।

    आँखैअगाडि हिमाली गाउँका बासिन्दाहरूकाे जीवनशैली बुझ्न र देख्न पाउने अवसर आफूलाई यात्राले दिएको उनले महसुस गरेका छन् । डेढ महिना लगातार हिँड्दा शरीर थाके पनि उनको मन कहिल्यै थाकेन । यात्रा रोमाञ्चक भयो ।

    कर्णाली घुमेर आएपछि डोल्पा, जुम्ला, मुगुलाई जोडेर एउटा पदमार्ग बनाउन सकिने सम्भावना दिवसले देखेका छन् । उनी भन्छन्, ‘डोल्पा, जुम्ला, मुगुलाई जोडेर एउटा पदमार्ग बनाउन सकिन्छ ।’ यो सँगै डोल्पामा से–फोक्सुन्डो, जगदुल्ला लगायतका धेरै ताल र गुमनाम रहेका थुप्रै हिमतालको प्रचारप्रसार गर्ने उनको योजना छ ।

    कागबेनीबाट हिँडेकाे ४७ दिनमा उनी रारा पुगे । रारा पुगेपछि उनले याे यात्रा टुंग्याए । अब एकैपटक सबै नेपाल पैदल यात्रा गर्ने योजना बनाएर दिवस नेपालगन्ज हुँदै पोखरा फर्किएँ । ‘४५ दिनमा खप्तडसम्म पुग्ने सोचेको थिएँ तर प्रतिकुल मौसमका कारण धेरै समय लाग्यो’ उनले भने, ‘यसैले अब एकैपटक पैदलै नेपालका सबै जिल्ला घुम्ने अठोट गर्दै घर फर्किएँ ।’

    कर्णाली घुमेर आएपछि डोल्पा, जुम्ला, मुगुलाई जोडेर एउटा पदमार्ग बनाउन सकिने सम्भावना दिवसले देखेका छन् । उनी भन्छन्, ‘डोल्पा, जुम्ला, मुगुलाई जोडेर एउटा पदमार्ग बनाउन सकिन्छ ।’ यो सँगै डोल्पामा से-फोक्सुन्डो, जगदुल्ला लगायतका धेरै ताल र गुमनाम रहेका थुप्रै हिमतालको प्रचारप्रसार गर्ने उनको योजना छ ।

    लामो पदयात्रामा जान चाहनेले टेन्ट, स्लिपिङ ब्याग, म्याट्रेस, खाना पकाउने पोर्टेबल ग्यास साथमै लिएर जानुपर्छ । यसबाहेक न्यानो लुगा, पकाउने सानो भाडा, पोर्टेबल सोलार चार्जर, चाउचाउ, बिस्कुट, सुपहरु, कफी, चकलेटहरू लैजानुपर्ने दिवस बताउँछन् । माथि हिमालतिर जाँदा गाउँ गाउँमा गहुँ, जौ, मकै, भटमासको सातुहरू किन्न पाइने भए पनि कतिपय ठाउँमा पानीको अभाव हुने भएकाले २/३ लिटर पानी आफैँले बोक्नुपर्ने उनकाे सल्लाह छ ।

    ‘एकल यात्रा गर्दा ठाउँको बारेमा जानकारी लिनुपर्छ, म्यापसँगै बोकेर जानुपर्छ । बस्ने, खाने, पानी सबैको व्यवस्था आफैंले गर्नुपर्छ’ उनी भन्छन्, ‘बाटो बिर्सिएर हराउन सकिन्छ, धेरै हिउँ पर्दा बाटो नदेखिन सक्छ, यी सबैका लागि तयार भएरमात्रै एकल यात्रा गर्न सकिन्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend