१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

औद्योगिक व्यापार मेला: आज प्रजापति र पशुपतिको प्रस्तुति


जनमञ्च संवाददाता
  • २४ मंसिर २०७९ , शनिबार

  • औद्योगिक व्यापार मेला: आज प्रजापति र पशुपतिको प्रस्तुति

    पोखरा, २४ मंसिर – बैंक तथा वित्तीय संस्थाहरु यतिबेला तरलता अभावबाट गुज्रिरहेका छन् । तरलता अभाव हटाउन बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याज बढाएका छन् । तर, सोचेजस्तो निक्षेप संकलन भने भएको छैन ।

    उता, अनुत्पादक क्षेत्रमा गरिने लगानीमा भएको कडाइले ती क्षेत्रमा गरिने लगानी संकुचित बनेको छ । यो परिस्थितिबाट बाहिर आउन बैंक तथा वित्तीय संस्थाहरुले नयाँ योजनाहरु भने अघि सारिरहेका छन् । भएकालाई सन्तुष्ट बनाउने र नयाँ ग्राहक थप्ने अघोषित प्रतिस्पर्धामा रहेका बैंकहरुले ग्राहक लक्षित विशेष योजनाहरु धमाधम सार्वजनिक गरिरहेका छन् ।

    पोखरा उद्योग वाणिज्य संघले यहाँको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा बैंक तथा वित्तीय संस्थाहरुका एक दर्जनभन्दा बढी स्टलहरु रहेका छन् । ती स्टलबाट बैंक तथा वित्तीय संस्थाहरुले साविक र नयाँ योजनाबारे जानकारीमात्र पस्केका छैनन्, ग्राहकका चाहनाहरु पनि बुझिरहेका छन् ।

    मेलाको सह प्रायोजक हो, मुक्तिनाथ विकास बैंक । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडमार्फत् कृषकहरुमाझ पुगेको यो कम्पनीले स्टलमार्फत् कम्पनीका बस्तु तथा सेवाहरुबारे जानकारी दिइरहेको फुड इञ्जिनियर पूजा भण्डारीले जानकारी दिइन् । ‘जनता बैंक हैन, बैंंक जनताकहाँ जानुपर्छ‘ भन्ने नारासहित काम गरिरहेको बैंकले कृषकसँग मुक्तिनाथ, उपभोक्तासँग मुक्तिनाथ भन्ने योजनाहरुमार्फत् विभिन्न सुविधाहरु दिइरहेको उनको भनाइ थियो ।

    ‘बैंकले दिने अन्य सेवा सुविधा त भइहाले हामी प्राङ्गारिक खेती प्रवद्र्धन, कृषिको मूल्य श्रृंखला व्यवस्थापनमा पनि काम गरिरहेका छौँ’,उनले भनिन्,‘हाम्रा सेवाग्राही नै कृषक हुन् र कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु हाम्रो काम हो ।’
    नेपाल बैंक लिमिटेड पनि के कम ? पछिल्लो समय निजी बैंकहरुसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न बैंकले सहुलियतपूर्ण कर्जालाई उत्तिकै जोड दिएको छ । बैंकको पोखरा कार्यालयका वरिष्ठ सहायक पदम केसीका अनुसार मेलामा राखिएको स्टलबाट विभिन्न योजनाहरुबारे जानकारीमात्र दिइएको छैन,डिजिटल बैंकिङमार्फत् युवा ग्राहकसँग जोडिने अभियान चलाएको छ ।

    उता, कृषि विकास बैंकले मेलामा राखिएको स्टलमार्फत् विभिन्न ५ वटा सेवा एउटै खाताबाट ५ थरी सेवासहित अनलाइन खाता खोल्ने अभियानलाई प्रचार गरिरहेको छ । बैंकका सूचना प्रविधि शाखाका इञ्जिनियर सन्तोष गिरीका अनुसार मेलाको स्टलबाट निःशुल्क खाता खोल्ने काम भइरहेको छ ।

    मेलामा रहेको स्टलबाट माछापुच्छे« बैंकले ‘धेरै दिने भनेको आफ्नैले त हो’ भन्ने नारासहित ६ वर्षे मुद्धति खातामार्फत् दोब्बर रकम दिने योजनालाई जोडतोडले प्रचार गरिरहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले विश्वासिलो सेवालाई अझ बढी जनमुखी र प्रविधिमैत्री भएको जानकारी दिइरहेको छ ।

    मेलामा स्टलसहित आफ्ना सेवा र सुविधाबारे जानकारी दिन बसेका एनएमबी बैंक, प्रभु बैंक,गरिमा विकास बैंक,एनआइसी एसिया,ग्लोबल आइएमई बैंकले मात्र हैन, अजोड इन्स्योेरेन्स,रिलायवल लाइफ इन्स्योरेन्सले,शिवशिखर सहकारीले पनि आ–आफ्नो सेवाबारे ग्राहकलाई जानकारी दिइरहेका छन् । डिजिटल बैंकिङ्कमा अग्रणी इसेवा प्रालिले मेलामार्फत् नै इसेवाको थप प्रचार गरिरहेको छ ।

    ‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला खासमा प्रवद्र्धनमै केन्द्रीत छ’,संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘मेलामा स्टल राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना योजना र सेवाहरुबारे जानकारी दिनुभएको छ । मेला अवलोकनकर्ताले यसबाट फाइदा पाएका छन् ।’ उनले नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गरेको दृष्टान्त दिँदै भने,‘बैंकले पनि निःशुल्क खाता र एटीएम सुविधा प्रदान गरेका छन्, मेला अवलोकन पनि गर्ने र बैंकका विभिन्न योजनाबारे जानकारी पनि लिन मेला उपयुक्त थलो बनेको छ । ’ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा संचालित मेला यही मंसिर २५ गतेसम्म चल्ने संघका महासचिव बलराम आचार्यले बताए ।

    आज प्रजापति र पशुपतिको प्रस्तुति
    मेलाअन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रममा शनिबार प्रजापति पराजुली र पशुपति शर्माको विशेष प्रस्तुति रहने भएको छ । मेलाको सांस्कृतिक उपसमिति संयोजक शोभा गौतमका अनुसार रत्यौली प्रतियागिता र डान्सिङ आइडलबाट पनि अवलोकर्ताले मनोरञ्जन प्राप्त गर्न सक्नेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend