१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

सामान बोक्ने घोडाले जब पर्यटक बोक्न थाले…


जनमञ्च संवाददाता
  • २५ मंसिर २०७९ , आइतबार

  • सामान बोक्ने घोडाले जब पर्यटक बोक्न थाले…
    फाईल तस्वीर ।

    म्याग्दी, २५ मङ्सिर – सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केही बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन् ।

    घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन् । घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घटेको छ । घोडाको प्रयोग हिजोआज फेरिएको छ । तर पर्यटकका लागि भने घोडा आकर्षण बनेको छ ।

    अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका याम पुन पर्यटकलाई गन्तब्यमा पुर्‍याउनका लागि घोडाको माग बढ्न थालेको बताउँछन् । ‘घोडा चढेर यात्रा गर्न पर्यटकले रुचाएका छन्’, उनले भने, ‘सडक भएपछि सामान बोक्न र हामीले चढ्न प्रयोग गरेका घोडालाई अहिले पर्यटक बोक्न प्रयोग गरेका छौँ ।’

    घोडेपानीदेखि घान्द्रुक र नयाँपुलदेखि घोडेपानी आवतजावत गर्ने पर्यटकलाई घोडामा चढाएर आयआर्जन गर्ने माध्यम बनेको छ । घोडेपानीका छ वटा होटलले पर्यटकलाई चढाउनका लागि २५ घोडा पालेका छन् । पर्यटकलाई घोडामा चढाएर घोडेपानीदेखि घान्द्रुक पुर्‍याएको १५० डलर शुल्क तोकिएको छ ।

    ‘कोही पर्यटकले ५००/६०० डलर तिरेर दुई तिन दिनसम्मका लागि घोडा भाडामा लिएर घुम्न लैजान्छन्’, घोडोपानीका होटल व्यवसायी डमबहादुर पुनले भने, ‘हेलिकप्टर जान नसक्ने ठाउँमा घाइते भएका र फसेका पर्यटकको उद्धारमा पनि घोडा प्रभावकारी बनेको छ ।’

    अशक्त र हिँड्न गाह्रो भएरभन्दा पनि रमाइलोका लागि घोडा चढ्ने गरेका पुनले बताए । पर्यटकका लागि पुनले छ वटा घोडा पालेका छन् । घोडेपानीका साथै कास्कीको पर्यटकीयस्थल घान्द्रुकबाट छोमरोङ, अन्नपूर्ण आधार शिविरतर्फ जाने पर्यटकले पनि घोडाको प्रयोग गर्ने गरेका घोडा व्यवसायी अमित गुरुङले बताए ।

    घान्द्रुकमा घोडा चढेबापत प्रतिदिन १०० देखि ११० डलर शुल्क तोकिएको उनले बताए । पर्यटक बोक्न घोडालाई भ्याइनभ्याइ भएको अर्का व्यवसायी हितमान गुरुङले बताए ।

    घोडचढीप्रति पर्यटकको रुचि र आकर्षण बढेपछि घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने घोडा मार्ग बनाइएको घोडेपानीका होटल व्यवसायी सुशील पुनले बताए । जङ्गलभित्र घोडा चढेर आवतजावत गर्न मिल्ने तीन किलोमिटर घोडामार्ग र प्यारीबाराही ताल परिसरमा तबेला बनाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend