म्याग्दी, १५ पुस– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्न किसानले सुन्तला चिस्यान गृहमा भण्डारण गरेका हुन् ।
चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ । नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले जानकारी दिए ।
‘स्थानीय कृषकबाट खरिद र आफ्नै बगैचाको गरी दश हजार किलो सुन्तला चिस्यान गृहमा राखेको छु’, गुरुङले भने– ‘चैत–वैशाखमा बजारमा पठाउने तयारी छ ।’ अहिले प्रतिकिलो ६० देखि ७० रुपैयाँका दरले बिक्री भएको सुन्तला चैत–वैशाखसम्म प्रतिकिलो १ सय ६० देखि २ सय रुपैयाँसम्म बिक्री हुने गुरुङको विश्वास छ ।
फागुनसम्म सुन्तला बोटबाट नटिप्दा उत्पादकत्व र बगैचा व्यवस्थापनमा समस्या हुने गरेको छ । कृषकले समयमै सुन्तला टिप्न, उचित मूल्यमा बेच्न र सहजै बजार पाएको स्थानीय टक पुनले बताए । धेरै समय बोटमा फल लाग्दा हावाहुरीले क्षति हुने समस्या पनि हटेको पुनको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रमको सहयोगमा स्थापना भएको चिस्यान गृहमा पहिलोपटक सुन्तला भण्डारण गरिएको हो । सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी भण्डारण गर्ने सञ्चालक गुरुङको योजना छ ।
चिस्यान गृह बनाउन परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा १३ लाख अनुदान उपलब्ध गराएको थियो । कुल २१ लाख खर्च भएको चिस्यान गृहको पूर्वाधार र उपकरण खरिदमा सञ्चालक गुरुङले ८ लाखभन्दा बढी लगानी गरेको बताए ।