बागलुङ, २३ पुस– मिर्मिरे सहकारी संस्थाको १६ औं साधारणसभाले कृषि क्षेत्रको बिकासमा जोड दिएको छ । साधारणसभाले हरेक शेयर सदस्यलाई कृषिको व्यवसायमा लाग्न आग्रह गरिएको छ । साथै बजारीकरणका लागि संस्थाले पहल गर्ने समेत बताइएको छ ।
शनिबार सम्पन्न भएको साधारणसभामा संस्थाका अध्यक्ष गंगाबहादुर थापाले हरेक शेयर सदस्य कमाइ गर्न सक्ने गरी कृषि पेशामा लागेको देख्न सकिने बनाउन पहल गरिएको बताए । त्यसका लागि ऋण र बीउ तथा मलकालागि समेत संस्थाले साथ दिने उनको भनाइ थियो ।
ग्रामीण क्षेत्रबाट बजार झरेका व्यक्तिहरुको बाहुल्यता रहेको यो सहकारीका धेरैजसो सदस्य कृषि उत्पादनमा जोडिएका छन् । उनीहरुले बागलुङ बजारमा बिक्री गरेर कमाइ पनि गरेका छन् ।
४ सय ६७ जना शेयर सदस्य रहेको यो सहकारीका सदस्यले ताजा तरकारी, माछा, कुखुरा, बंगुर र बाख्रापालन व्यवसाय सहित च्याउ खेती पनि गरेका छन् ।
गंगाबहादुर थापाको अध्यक्षता, थानेश्वर सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ठ बिद्यार्थी र एकल महिला उद्यमीलाई सम्मान गरिएको थियो ।
सहकारीको अधिवेसनले नारायणप्रसाद उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको निर्वाचन अधिकृत अधिवक्ता हरिप्रसाद गौतमले जानकारी दिए ।
सहकारीको उपाध्यक्षमा टेकबहादुर केसी, सचिवमा थानेश्वर सुवेदी, कोषाध्यक्षमा पदमबहादुर खत्री र सहसचिवमा मीना शर्मा आचार्य चयन भएका छन् । सदस्यमा सुमित्रा जैसी, सरिता शर्मा, माया खड्का, होमनाथ गौतम, खगराज शर्मा र सीतादेवी क्षेत्री छन् । लेखा समिति संयाजकमा दिलमाया थापा क्षेत्री, सदस्यमा दुर्गादेवी गौतम र सीता क्षेत्री चयन भएको समेत उनले जानकारी दिए ।