पर्वत, ५ फागुन– उचित मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैं प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेको छ ।
सहकारी आफैँले धुलो कफी उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् । पर्वतको अर्गानिक कफी सहकारी संस्थाले पर्वत कफी र धौलागिरि कफी ब्रान्डमा धुलो कफी बिक्री गर्न थालेको हो ।
कफीका दाना बिक्री गर्दा मूल्य नपाउनने र कहिलेकाहीँ विदेशीले समेत कफीको गुणस्तर नभएको भन्दै फिर्ता पठाउन थालेपछि सहकारीले प्रशोधन गरी बिक्री गर्न थालेको हो । यसअघि पर्वतको कफी युरोप, जापान र कोरियामा निर्यात हुने गरेको थियो ।
गुणस्तरको बहानामा विदेशीले लिन आनाकानी गर्न थालेपछि आफैँले उत्पादन गर्न थालिएको सहकारी संस्थाका व्यवस्थापक भवानीप्रसाद शर्माले बताए । धुलो बनाएर बेच्दा स्थानीय बजारका साथै मेला महोत्सवमा कफीको प्रचार हुने गरेको छ ।
शर्माका अनुसार अहिले जिल्लाको कफी पोखरा काठमाडौँका तारेहोटल तथा क्याफेले खरिद गर्दै आएका छन् । पोखरा, बागलुङ र पर्वतका सौगात घरमा समेत कफी बिक्री हुने गरेको शर्माले जानकारी दिए ।
पर्वतमा बर्सेनि २० मेट्रिक टनभन्दा बढी कफी उत्पादन हुने गरेको छ । कृषकले उत्पादन गरेको कफी फ्रेस चेरी तथा ‘पार्चमेन्ट’ जिल्ला कफी सहकारीले खरिद गरेर विभिन्न निर्यात गर्ने कम्पनीलाई बिक्री गरी वार्षिक एक करोडभन्दा बढी जिल्ला भित्रिने गरेको छ ।
पर्वतका साथै बागलुङ र म्याग्दीमा उत्पादित कफी स्थानीयका साथै विदेशी बजारमा समेत निर्यात हुन थालेसँगै कृषकले राम्रो मूल्य पाएका छन् । सहकारीका अनुसार गतवर्ष मात्रै १७ टन कफी निर्यात भएको थियो । अहिले पर्वतका ३५ वडामा कफी खेती हुँदै आएको छ ।