पर्वत, ५ फागुन– स्वास्थ्यमन्त्री पदम गिरीको गृह जिल्ला पर्वत अस्पतालमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा प्रभावित बनेको हो ।
अस्पतालमा जलजला, फलेवास, मोदी, महाशिला, विहादी र छिमेकी जिल्ला बागलुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका सर्वसाधारण अस्पतालमा उपचारका लागि आउने गर्दछन् । एक महिनादेखि चिकित्सक नहुँदा प्रसूति सेवा लिन पोखरा र काठमाडौँ लगायतका अस्पतालमा धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ आम्बोटकी कुमारी रेग्मी प्रसूति ब्यथाले च्यापेर झण्डै १० किलोमिटर सडक यात्राबाट पर्वत अस्पताल पुग्दा चिकित्सक नभएपछि पोखरा जान बाध्य भएको स्थानीय नवराज क्षेत्रीले बताए । अस्पतालमा यसअघि मासिक ३० देखि ३५ जनासम्मले सुत्केरी सेवा लिँदै आएका थिए ।
जिल्ला अस्पताल पर्वतकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रुक्मिणा अधिकारीका अनुसार, अस्पतालमा कार्यरत चिकित्सक डा. हेमन्त बराल एक महिनादेखि तालिममा छन् । अस्पतालमा थप दरबन्दी वा वैकल्पिक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको डा. अधिकारीले बताइन् ।