हेमोफेलिया भनेको रगतजन्य रोग हो। शरीरमा रगत जमाउने ‘क्लटिङ फ्याक्टर’ हुन्छन् तर हेमोफिलियाका बिरामीमा भने त्यो फ्याक्टरको कमी हुन्छ । जसले गर्दा कही कारणबश रगत बग्यो भने थामिंदैन ।
हेमोफिलियालाई रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत रोगका रुपमा पनि लिइने हेमाटोलोजिष्ट विशेषज्ञ डा. नीरज कुमार सिंहले बताए । सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने ‘क्लटिङ फ्याक्टर’ हुन्छ तर हेमोफिलिया भएकाहरुमा क्लटिङ फ्याक्टर कम हुने भएकाले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तश्राव भइरहने उनी बताउँछन् ।
डा. सिंहका अनुसार हेमोफेलियालाई माइल्ड, मोडरेट र सिभियर गरेर तीन भागमा विभाजन गरिएको हुन्छ । ‘रगतमा भएको फ्याक्टरको मात्रा १ प्रतिशतभन्दा कम भएमा सिभियार, १ देखि ५ प्रतिशतभन्दा कम भएमा माइल्ड र ५ भन्दामाथि भएमा न्यून हेमोफिलिया भनिन्छ’ उनले भने ।
हेमोफेलियाका तीन प्रकारमध्ये सिभियर हेमोफेलियालाई जटिल मानिन्छ । नेपालमा सबैभन्दा बढि करिब ८० प्रतिशतमा सिभियर बिरामीको संख्या रहेको छ । ‘हेमोफेलियालाई दुर्लभ रोग पनि मानिन्छ । सिभियर हेमोफेलिया निकै जटिल अवस्था हो । सिभियर हेमोफेलिया भएका व्यक्तिमा बिनाकारण बस्दा बस्दै पनि रगत बगिरहने हुन्छ’ उनले भने ।
एकदेखि पाँच प्रतिशत फ्याक्टर भएका व्यक्तिलाई भने मोडरेट भनिन्छ यो समस्या भएका व्यक्तिहरुमा भने हल्का चोटपटक लाग्यो, हाडजोर्नीहरुमा केहि भार पर्यो भने सुनिने र रगत बग्ने जस्ता समस्या देखिने उनले जानकारी दिए । त्यस्तै, माइल्ड भनेको पाँच प्रतिशतभन्दा बढि फ्याक्टर भएकालाई मानिन्छ । यसमा यतिकै रगत नबग्ने तर अप्रेशन वा कतै चोटपटक लाग्यो भने रगत नै नरोकिने समस्या देखिन्छ ।
हेमोफेलियाले उत्पन्न गराउने मुख्य समस्या भनेको रगत बगेपछि जम्न नदिने र निकै दुखाई हुने हो । हेमोफेलिया बंशानुगत अर्थात आमापक्षको बंशबाट सर्दै आउने रोग हो । यो रोग पुरुषलाई मात्र लाग्ने उनले बताए । हेमोफेलियाको उपचार निकै खर्चिलो भएकाले सबै जना उपचारलाई निरन्तरता दिन नसकेकै कारण बिरामीहरु मध्ये धेरै अपाङ हुनुपरेको समेत उनले जानकारी दिए ।
लक्षण
शरीरमा निलडामहरु देखिने, जोर्नी तथा मांशपेशीहरु सुन्निने, दुख्ने हुन्छ ।
कतै थोरै ठोक्किँदा, दाँत फेरिँदा, काट्दा वा शल्यक्रिया गर्दा धेरै समयसम्म रक्तश्राव भइराख्ने ।
शरीरमा क्लटिङ फ्याक्टरको कमी हुने ।
रगतमा रहेको फ्याक्टर एस्सेबाट हेमोफेलियाको पहिचान गरिन्छ । हालसम्म हेमोफेलियाको पहिचान काठमाडौंको केन्द्रीय प्रयोगशाला टेक त्रिवि शिक्षण अस्पताल महराजगञ्ज र निजामती कर्मचारी अस्पतालमा परीक्षण गर्न सकिन्छ ।
नेपालमा कति छन् बिरामी ?
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक वर्ष जन्मिने दश हजार शिशु मध्ये एक जना हेमोफेलिया रोग लिएर जन्म हुने उल्लेख गरिएको छ । नेपाल हेमोफेलिया सोसाइटीका अनुसार हाल नेपालमा आठ सयको हाराहारीमा हेमोफेलियाका बिरामीहरु संस्थामा जोडिन आइपुगेको संस्थाका उपाध्यक्ष मुकुन्दमणि घिमिरेले बताए । जनचेतना अभावकै कराण हेमोफेलियाका धेरै बिरामीहरु रोगको पहिचान गर्न नसकेर बसिरहेको उपाध्यक्ष घिमिरेको भनाई छ । –नेपालखबरबाट