बागलुङ, १९ फागुन– राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यबादबिरुद्ध बोल्दा सानो दल बन्नुपरेको बताएका छन् । उनले नेपालका ठूला दलहरु भारत र अमेरिकाको गुलामी गरेर आफ्नो पद जोगाउन लागेको पनि आरोप लगाए ।
शुक्रबार बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै केसीले बिदेशी शक्तीको भरमा लाग्नेले दल ठूलो बनाएपनि सुशासन र इमान्दारिता देखाउन नसकेको बताए । बिदेशीकै एजेण्डाको रुपमा संघियता लादिएको भन्दै त्यसले देशको अर्थतन्त्र टाट पल्टिन लागेको केसीले टिप्प्णी गरे ।
केसीले गणतनत्र र धर्मनिरपेक्षता जोगाउन यतिबेला नेपाली कांग्रेससँग सहकार्य गरेको बताए । ‘मलाई कांग्रेसको झोला बोक्यो भनेका छन्, तर केही एजेण्डा मिलेकोले सहकार्य गरेका हौं’ केसीले भने, ‘राष्ट्रियतामा एमालेभन्दा कांग्रेस नजिक भयो ।’ राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस नेता रामचन्द्र पौडेललाई मतदान गर्ने उनले बताए ।
लामो समय सहकार्य गरेको एमालेलाई केसीले केही समयदेखि छाडेका छन् । ‘बामपन्थीका हिसाबले केपी ओली नजिक छन्, तर एजेण्डाले शेरबहादुर नजिक भए’ केसीले भने, ‘लोकतन्त्र बचाउनुपर्छ, बहुदलीय प्रणाली र धर्मनिरपेक्षता जोगाउनु पर्छ भन्नेमा कांग्रेसमा इमान्दारिता देखियो ।’ बर्गिय हिसाबले कांग्रेसभन्दा बामपन्थी नजिक भएपनि राष्ट्रियता र बिधिको शासन स्थापित गर्नुपर्छ भन्नेमा कांग्रेसले साथ दिएको उनले बताए । २०७७ साल पुस ५ गते संसद बिघटनपछि भने केसी एमाले अध्यक्ष ओलीको एजेण्डाबाट टाढा पुगेका छन् ।