बागलुङ, २३ फागुन– नेकपा एमालेले देशब्यापी रुपमा जारी राखेको मिसन ग्रासरुट अभियानअन्तर्गत बागलुङका स्थानीय तहमा बैठक–भेला सुरु भएका छन् ।
पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटिबाट खटाईएका नेताहरुको उपस्थितीमा भेला बैठक सुरु भएका हुन् । बागलुङको बरेङ गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकामा अभिमुखीकरणसहित भेला र बैठक सकिएका छन् । पालिका तहको भेला, बैठक र अभिमुखीकरण सकिएपछि वडा र टोल कमिटिमा पुग्ने योजना रहेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए ।
बागलुङ नगरस्तरीय अभिमुखीकरणलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटि सदस्य जगत विश्वकर्माले अभियानले पार्टीमा नयाँ जागरण आउने बताए । उनले नेताहरु कार्यकर्ताको घरदैलोमा पुग्ने भएकाले पार्टीको नीति, नेतृत्व र कार्यदिशा एकैपटक सर्वसाधारणको तहमा सञ्चार हुने दाबी गरे ।
पार्टी संगठन सुदृढीकरण तथा संगठन बिस्तार केन्द्रीत अभियान पार्टीका गतिविधिलाई अझ सशक्त र बलियो बनाएर लैजाने गण्डकी प्रदेश कमिटिकी उप–सचिव मञ्जु अधिकारीले बताइन् । अधिकारीले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्यका लागि पनि मिसन ग्रासरुट अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
फागुन ११ गते जिल्ला कमिटीको बैठकले अभियानलाई सम्पन्न गर्न वडातहसम्म जिम्मेवारी तोकिएको जिल्ला उप–सचिव गणेश थापाले बताए । जिल्लाका दशवटै पालिकामा सञ्चालन गरिने अभियानअन्तर्गत अहिलेसम्म केही पालिकामा मात्रै बैठक, भेला र अभिमुखीकरण सम्पन्न भएका छन् ।
अभियानअन्तर्गत बागलुङमा पार्टीका केन्द्रिय सदस्यहरु जगत विश्वकर्मा, पदम गिरी, नरदेवी पुन र कृष्ण थापालाई खटाईएको छ । मंगलबार बागलुङ नगर कमिटिको अभिमुखीकरण कार्यक्रममा जगत विश्वकर्मा, मञ्जु अधिकारी, लिला राना, हिराबहादुर केसीलगायतले बोलेका थिए ।
कार्यक्रम नगर कमिटि अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, सचिव रामकृष्ण शर्माको सञ्चालन र उपाध्यक्ष खिमराज सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।