बागलुङ, २२ चैत्र– जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजाको दह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रबद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् ।
नौलागाउँ र गाजा दहको सुख्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका कृषकले दाँते ओखरको व्यवसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ ।
हुर्किदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाली थप्दै गरेको किसान शेरबहादुर छन्त्यालले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई बागलुङको सहयोगमा एक हजार सात सय दाँते ओखरका विरुवा रोपिएको छ ।
छन्त्याल कृषक समूहमा आवद्ध कृषकले एक सय रोपनी क्षेत्रमा ओखर रोपेका हुन् । खाली जग्गामा थिङसेल जातको कलमी बिरुवा रोपेको जैमिनी नगरपालिका कृषि शाखामा कार्यरत प्राविधिक रविन्द्र शर्माले जानकारी दिए । कलमी बिरुवाले तीन बर्षपछि उत्पादन दिने उनले बताए । कार्यक्रमको लागि परियोजनाले १० लाख रुपैयाँ पनि उपलब्ध गराएको थियो ।
बिरुवा खरिद, ढुवानी, बिरुवा रोपणको लागि खाडल खन्ने, मल व्यवस्थापन, सिँचाई व्यवस्थापन र बिरुवा रोप्ने क्षेत्रमा रहेका रुख कटानको लागि प्रयोग हुने चेन्सो मेसिन खरिदको गर्न कुल १७ लाख ८५ हजार रुपैयाँ खर्च भएको छन्त्याल कृषक समुहका अध्यक्ष देवप्रसाद छन्त्यालले जानकारी दिए । परियोजनाले उपलब्ध गराएको १० लाखबाहेक अपुग भएको रकम कृषकबाट संकलन गरिएको थियो । समुहमा १ सय १४ जना कृषक आबद्ध रहेका छन् ।