म्याग्दी, ९ बैशाख– बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोकसेवा आयोगबाट पदस्थापन भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिएका छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीका अनुसार, चिकित्सकहरू थपिएसँगै विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गरिएको हो । ‘सर्वसाधारणलाई निजी क्लिनिक र जिल्लाबाहिर जानुपर्ने समस्या हटाउन जनशक्ति र उपकरण व्यवस्थापनसँगै पूर्वाधार निर्माणमा जोड दिएका छौँ’ सुवेदीले भने, ‘दुई वर्षपछि अस्पतालको सुविधासम्पन्न ५० शय्या क्षमताको भवन निर्माण पनि सुचारु भएको छ ।’
पछिल्लो समय फिजिसियन विशेषज्ञ, ज्येष्ठ नागरिक उपचार कक्ष, अत्याधुनिक एक्स–रे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग र फिजियोथेरापी सेवा सुरु गर्न लागेको जनाएको छ ।
यसअघि आठजना मेडिकल अधिकृत र चिकित्सक कार्यरत अस्पतालमा यसै हप्ता लोकसेवा आयोग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप छ विशेषज्ञसहित नौजना चिकित्सक आएका अस्पतालका प्रमुख चिकित्सक डा. शंकरराज लामिछानेले बताए । जनशक्ति थपिएसँगै कार्यरत चिकित्सकलाई कार्यबोझ घट्ने, बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने र उपचार सेवा सहज भएको डा. लामिछानेले बताए । स्त्रीरोग, हाडजोर्नी, फिजिसियन, जनरल सर्जन, दन्त, अर्थोपेडिक, आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरेका छाँै’ लामिछानेले भने ।