बागलुङ, ११ बैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार खिमानन्द कँडेलले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट चुनाव लडेका कँडेलले ८ लाख १५ हजार १ सय २० रुपैयाँको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
कँडेलले अत्यावश्यक शिर्षकमा मात्रै निर्वाचनमा खर्च गरेको बताए । अन्य पार्टीका उमेद्वारहरुले जस्तो कँडेलले मतदाता नामावली खरिद तथा छपाईमा खर्च नगरेको उल्लेख गरेका छन् । उनले सबैभन्दा धेरै खर्च सवारी साधनका लागि गरेको उल्लेख गरेका छन् ।
चुनाव प्रचारप्रसारका लागि गाडी भाडामा लिँदा ३ लाख ४५ हजार रुपैयाँ खर्च भएको हो । सवारी साधनका लागि इन्धन खरिदमा ९९ हजार दुई सय रुपैयाँ खर्च भएको छ । प्रचार सामग्रीमा ५१ हजार छ सय, खाजा, खाना र गोष्ठीमा ६७ हजार ३२०, छापा तथा विद्युतीय प्रचारप्रसारमा ४७ हजार, कार्यालय सञ्चालनमा २५ हजार, प्रतिनिधि परिचालनमा एक लाख ५० हजार र बिबिध खर्च तीस हजार भएको कँडेलले विवरणमा उल्लेख छ ।