पोखरा, २२ बैशाख– प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए ।
सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुंगिसकेको बताइन् । ‘गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई/तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’ तिवारीले भनिन् । मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उनको भनाइ छ ।
६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ७ र नेकपा (एकीकृत समाजवादी)का १ गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई बिहीबार विश्वासको मत दिएका थिए । नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत हाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताए । ‘मन्त्रालयको जिम्मेवारीमा जाने पात्रहरुबारे अहिले दलगत रुपमा छलफल केन्द्रित छ’, जुग्जालीले भने, ‘मन्त्रीको नाम टुंगो लाग्नासाथ सरकारले पूर्णता पाउँछ ।’