म्याग्दी, २५ बैशाख– जिल्लाको मंगला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिना पूरा भई ५९ महिना ननाघेका आठ सय दुई जना बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।
१४ हजार आठ सय ३७ जनसंख्या रहेको गाउँपालिकामा ११ महिनाभन्दा मुनीका दुई सय ५७ जना र २३ महिना मुनीका पाँच सय १६ जना बालबालिका रहेको मंगला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाले बताए ।
चार स्वास्थ्यचौकी र तीन सामुदायिक स्वास्थ्य इकाईबाट सेवा दिईरहेको मंगलाले १९ खोप क्लिनिक, १० गाउँघर क्लिनिक, ३७ जना राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
बालबालिकालाई पूर्ण खोप लगाउन खोप तथा जनशक्तिमा एक जना बालबालिकाका लागि राज्यले ३० हजार रुपैयाँभन्दा बढी खर्चिने गरेको छ । मंगला गाउँपालिकामा वार्षिक खोपका लागि राज्यले २ करोड ४० लाख ६० हजार रुपैयाँ खर्चिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल र गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पूर्ण खोप बालबालिकाको अधिकार भएको बताएका थिए ।