बागलुङ, १ जेठ– पछिल्लो समय सहकारीप्रति बढेको अविश्वास र केही सहकारीको समस्याले झस्केका आम नागरिकलाई विश्वस्त बनाउन स्थानीय तहले पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् । प्रभावकारी अनुगमन गर्दा सहकारीहरुमा बेथिती आउनबाट रोक्न सकिने उनीहरुको सुझाव थियो ।
राष्ट्रिय सहकारी बैंकले पालिकाहरुलाई सो कार्यका लागि १४ बुँदे सुझाव समेत पेश गरेको छ । बैंकका संचालकले बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठलाई भेटेरै सुझावपत्र बुझाएको संचालक रामबहादुर जिसीले बताए ।
जिसीले सहकारीको प्रवद्र्धन र विकासमा नगरपालिकाले सहकार्य गर्नुपर्ने र सहकारीलाई बाटो बिराउन नदिन नियमन गर्नुपर्ने सुझाए । स्थानीय तहले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट आउने क्रममा पनि ती बुँदा मनन् गर्न सुझाव दिइएको हो ।
राज्यले तीन खम्बे अर्थनीतिमा सहकारीलाई राखेपनि व्यवहारमा नदेखिएकोले सहकार्यमा हिंडाउने प्रयास गर्दा अनियमितता समेत रोकिने बैंकका प्रबन्धक युवराज त्रिपाठीले बताए । सहकारीको संस्थागत प्रतिनिधित्व हुनेगरी पालिका समन्वय समिति गठन गर्ने, बित्तिय सेवाको पहुँच बिस्तारका लागि बित्तिय साक्षरता, सहकारी सदस्य शिक्षा र आबस्यक तालिम संचालन गर्नुपर्ने सुझाव पेश गरिएको थियो । बाँझो जमिन उपयोगमा पनि सहकारीले भूमिका खेल्नुपर्ने र पालिकाले समन्वय गर्नुपर्ने सुझावमा उल्लेख छ ।
बजेटको कम्तिमा ५ प्रतिशत सहकारी क्षेत्रमा बिनियोजन गर्नुपर्ने सुझावमा समेटिएको छ । सुझावपछि नगरप्रमुख श्रेष्ठले सहकारीलाई नियमन गरेर विकासका साझेदार बनाउने बताए ।