बागलुङ, ८ जेठ– पशुमा देखिएको संक्रामक रोग नियन्त्रणका लागि बागलुङमा पशु चिकित्सक र पशु प्राविधिकले सक्रियता देखाएका छन् ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिकाभित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षति हुनबाट बचाउने काममा लाग्न उनले निर्देशनसमेत दिएका छन् ।
संक्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्युसमेत भइसकेको बताइएको छ । सापकोटाका अनुसार, झण्डै चार सय पशु संक्रमित छन् भने १४ पशुको मृत्यु भइसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो । मृत्यु हुने अधिकांश पशुमा उच्च ज्वरो देखिएको डा. सापकोटाले जानकारी दिए ।
एक सय चार डिग्रीभन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उनले प्राविधिकलाई आग्रह गरेका हुन् । होलिस्टाइन र अन्य विकासे गाई पालिएको फर्ममा यो सं्क्रमण बढी देखिएको हो । तराइका जिल्लामा देखिएको संक्रमण क्रमशः बागलुङमा पनि आएको हो ।
जिल्लाका सबै पालिकास्थित पशुसेवा शाखाका प्राविधिकलाई उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो । यो रोग सङ्क्रमण भएको गाई भैँसीमा पाँच दिनसम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्काे पशुमा सर्ने गरेको भेटिएको हो । त्यसका लागि गोठ सफाइ गर्ने, सङ्क्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उनले बताए ।
यो रोगको निश्चित औषधि नभएकाले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताए । ज्वरोको लागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भइरहेको हो ।
अन्तक्र्रियामा बडिगाड गाउँपालिका पशु शाखाका बसन्त गौतम, गलकोटका शिव आचार्य, ताराखोलाका चिन्तामणी शर्मा, ढोरपाटनकी टेकमाया खड्का, तमानकी यमकुमारी घर्ती, काठेखोलाकी तुला गलामी निसीका कृष्ण चन्द र जैमिनीका कृष्ण ढकालले नियमित किसानको फर्म र घर घरमा खटिएर उपचार सेवा दिएको बताएका थिए ।