बागलुङ, ११ जेठ– धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो ।
धवलागिरि अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा, डा. राजन शर्मा, डा. अमित ढुंगानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए ।
यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौँलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।