म्याग्दी, ११ जेठ– जिल्लाका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ ।
बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावले मह उत्पादन घट्दै गएको किसान बताउँछन् । वातावरणीय प्रदूषण र जलवायु परिवर्तनले विभिन्न किसिमका रोगकीराको प्रकोप देखिन थालेको ज्यामरुककोटका मौरीपालक किसान बलबहादुर घिमिरेले बताए ।
विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो । म्याग्दीका विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
म्याग्दीमा रहेका दुई हजार पाँच सय मौरीका घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिए । विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०७९÷८० मा १७ हजार ६ सय केजी मह उत्पादन भएको हो ।
पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसान चिन्तित बनेका छन् । मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञ बताउँछन् ।