प्रतिकात्मक तस्बिर
पर्वत, १४ जेठ– फलेबास नगरपालिका वडा नं. ११ पाङराङको कर्नासमा हरेक वर्ष २ करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो । यसवर्ष भने फल लाग्ने बेलामा परेको असिनापानीले पूरै नष्ट गरिदिएको छ ।
असिनापानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिए । कर्नास गाउँमा गतवर्ष पनि असिनाकै कारण बीउ उत्पादन घटेको थियो ।
बीउ उत्पादनबाट बर्सेनि २ करोड १० लाखसम्म भित्राउँदै आएको कर्नासमा यसवर्ष भने बीउ उत्पादन नभएको पाठकले बताए । कर्नासका कृषकले दुई वर्षअघि ७ टन बीउ उत्पादन गर्दा दुई करोड १० लाख आम्दानी गरेका थिए ।
कर्नास गाउँका ७२ घरधुरीको मुख्य पेसा नै काँक्राको बीउ उत्पादन हो । ‘हिउँदभरि गरेको दुःख असिनापानीले क्षणभरमै सखाप बनाइदियो’ नारायणस्थान बीउ उत्पादन समूहका उपाध्यक्ष जमुना कुँवरले भने, ‘असिनाले पेशा नै संकटमा प¥यो ।’
कुँवरले काँक्राको बीउमा परेको क्षतिबारे स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराएको भएपनि राहतका लागि कुनै पहल नभएको गुनासो गरे । ठूलो आम्दानी हुने भएपनि स्थानीयवासीले काँक्रा खेतीका बीमा भने गरेका छैनन् ।
समूहका अध्यक्ष पाठकले दुई वर्षअघि १ सय ६८ किलोग्राम काँक्राको बीउ उत्पादन गरेकामा यसवर्ष असिनाका कारण सबै सखाप पारिदिएको सुनाए ।
गतवर्ष थोरै क्षेत्रफलमा काँक्रा खेती गरेकाले ४० किलोभन्दा बीउ नबनेको उनको भनाई छ । पाठकले बीउ र हरियो काँक्रा गरेर वार्षिक झन्डै ४ लाख आम्दानी गर्नुभएका पाठकले यसवर्ष क्राँक्राबाट एक रुपैयाँ आम्दानी गर्न नसकेको बताए ।
कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार यसवर्ष असिनापानीले बीउ नष्ट गरिदिएको छ । असिना पीडित किसानलाई क्षतिपूर्ति दिलाउने विषयमा पहल भईरहेको थापाले बताइन् ।