बागलुङ, १९ असार– गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले गण्डकी प्रदेशलाई देशकै पहिलो प्रदेशको रुपमा पूर्ण खोप पाएको प्रदेश बनाउने तयारी भएको बताएका छन् ।
सोमबार बागलुङमा आयोजना गरिएको पूर्ण खोपयुक्त जिल्ला घोषणा सभाको उद्घाटन गर्दै छिट्टै डा. शर्माले प्रदेशनै घोषणा गर्ने तयारी भएको बताए । बालबालिका जन्मेदेखि ५ बर्षको उमेर पुग्दासम्म पाउनुपर्ने सबै प्रकारका खोप पाएको अवस्था सुनिश्चित भएपछि घोषण गर्ने चलन छ ।
सो अनुसार बागलुङमा उक्त उमेर समूहका १० हजार ३ सय १८ जना बालबालिकाले सबै खोप पाएको निश्चित भएपछि जिल्ला घोषणा भएको हो । त्यसअघि पालिका तहमा पनि घोषणा सभा राखिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय समिति बगलुङले सबै खोप पुगेको अवस्था भएपछि घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माका अनुसार महामारीजन्य रोग समेत लाग्नै नदिने गरी खोप तथा उपचार सेवाको बिस्तार भैरहेको बताए ।
नेपाल सरकार, गण्डकी प्रदेश सरकार र सबै स्थानीय तहले खोप तथा स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिएकोले ती लक्षहरु पुरा गर्न पनि सहज हुने उनले बताएका थिए । शर्माले बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सकिनुको आधार सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै डा. शर्माले हरेक स्वास्थ्यकर्मीले समय दिएर उपचार र खोप दिंदा अमूल्य जीवन बचेको बताए । ‘स्वास्थ्यकर्मीसँग हातमा ५ रुपैयाँ पैसा नभएको बेला पनि ५ मिनेट समय दिएर बिरामीको उपचार गरेका छन्’ उनले भने, ‘त्यो समय र मेहेनतले नागरिकको जीवन बचेको छ ।’
अन्य क्षेत्रका कर्मचारीले लक्ष र प्रगती बनाएर काम गरेपनि स्वास्थ्यकर्मीले हरेक आकस्मिक सेवा र महामारीमा अगाडि खटेर काम गर्नुपर्ने धारणा राखेका थिए ।